अवतरण हुनै लाग्दा चन्द्रयान-२ सम्पर्कविहीन

भारत । चन्द्रयान–२ को विक्रम ल्यान्डरको सम्पर्क टुटेको छ। चन्द्रमामा अवतरण हुन मात्र केही समय अघि सम्पर्क टुटेको हो ।

ल्यान्डर योजना अनुरुप नै चन्द्रमाको सतहमा उत्रिरहेको थियो। सतहभन्दा २ दशमलव १ किलोमिटरसम्म सबै कुरा ठिक नै थियो। तर, त्यसपछि भने उसँगको सम्पर्क एक्कसी टुट्न पुग्यो । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अधयक्ष के सिवनले बताए। यसबारे अनुसन्धान थालिएको उनले बताए ।

विक्रम ल्यान्डर भारतीय समयअनुसार राति साढे १ देखि साढे २ बजेसम्म चन्द्रमाको सतहमा उत्रने अनुमान गरिएको थियो । सबै कुरा ठिकठाक नै चलिरहेपनि अन्तिम समयमा सम्पर्क टुटेपछि वैज्ञानिक केही निराश देखिन्थे ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरुको हौसला बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत ब्याङ्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । जब इसरोका अध्यक्ष निराश हुँदै मोदी भएको ठाउँ पुगे र यसबारे जानकारी दिए तब मोदी वैज्ञानिकको बीच गई निराश नहुन आग्रह गर्दै हौसला दिन थाले ।

उनले जीवनमा उतार चढाव आइराख्ने भन्दै यो ठुलो उपलब्धि भएकाले निराश नहुन आग्रह गरे। उनले भने, ‘जीवनमा उतार चढाव आइराख्छ । तपाईहरु निराश नहुनस् । यो सानो उपलब्धि होइन। देशले तपाईहरुमाथि गर्व गरेको छ। तपाईहरुको मेहनतले धेरै कुरा सिकाएको छ। हाम्रो अभियान जारी रहनेछ। म सधैं तपाईहरुको साथमा छुँ ।’

चन्द्रयान २ का लागि दक्षिणी ध्रुवलाई छनोट गरिएको थियो । विक्रम ल्यान्डरलाई चन्द्रमाको कक्षमा रहेको आर्बिटरबाट पहिले अलग गर्नुपर्ने थियो र त्यसपछि विस्तारै चन्द्रमाको सतहमका ल्याउनुपर्ने थियो । ल्यान्डरको भित्र प्रज्ञान नामको रोवर थियो जसलाई ल्यान्डरले सुरक्षित अवतरण गराई वाहिर निकाल्नुपर्ने थियो । प्रज्ञान रोवरले चन्द्रमाको सतहमा भ्रमण गरि वैज्ञानिक खोजलाई सहयोग गर्नु थियो । तर, ल्यान्डरको सम्पर्क नै विच्छेद भएपछि वैजानिक निराश बनेका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत विश्वकै पहिलो देश हो। हालसम्म पठाइएका धेरै जसो यान चन्द्रमाको भूमध्ये रेखाको आसपासको क्षेत्रमा मात्रै पठाइएको छ । यदी यो मिशन सफल भएको भए चन्द्रमामा यानको सफल अवतरण गराउने भारत विश्वकै चौथो मुलुक बन्ने थियो । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा सफलताका साथ यान अवतरण गराइसकेका छन् ।