उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बिबिसीले जनाएको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण भएको बबीसीले जनाएको छ ।

उक्त क्षेप्यास्त्र समुद्रमुनि पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बताइएको छ । पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधबार स्थानीय समयानुसार बिहान सात बजे क्षेप्यास्त्र परीक्षण गरिएको थियो । दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो ।

यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ । यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ-अनको तस्बिर भने सार्वजनिक भएको छैन । यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए।