कसले पाउँला नेविसंघ र तरुणदल हाक्ने अबसर ? यस्तो छ पार्टी तयारी

काठमाडौं । नेपाली कांग्रेसको महत्वपूर्ण भातृसंगठन नेपाल विद्यार्थी संघ नेतृत्व विहीन बनेको ६ महिना बढी भइसकेको छ। ६ महिनासम्म पनि नेतृत्व नपाउँदा नेविसंघ गतिहीन जस्तै बनेको छ। कहिले ३२ वर्ष माथिको उमेर , कहिले ३२ मूनीको किचलोले अहिलेसम्म नेविसंघ नेतृत्व विहीन बन्न पुगेको हो।

पार्टीका दोस्रो तह र तेस्रो तहका नेताहरूमा आफू निकट विद्यार्थीलाई नेतृत्व दिने होड पनि नेविसंघ नेतृत्व विहीन बन्नुको अर्को कारण हो। ‘योग्यता, क्षेमता र योगदान भन्दा पनि आफ्नो वरिपरि घुमि राख्ने व्यक्तिलाई नेतृत्व सुम्पिन चाहने केही नेताका कारण नेविसंघ यो अवस्थामा पुगेको हो’, नेविसंघका एक नेताले भने, ‘पार्टी नेतृत्वले उक्त कुरालाई अस्वीकार गरेको छ। पार्टी हाम्रा भन्दा पनि राम्रालाई ल्याउन चाहन्छ। तर, हाम्रालाई ल्याउने तत्व सक्रिय भएकाले समस्या भइरहेको छ।’

कांग्रेसको यतिवेला केन्द्रीय समिति बैठक जारी छ। पार्टीको जारी बैठकमा पार्टी नियमावली पास भएसँगै एकतिर महाधिवेशनको मिति तय गर्ने प्रेसर, अर्को तर्फ नयाँ संरचना अनुसार प्रादेशीक कमिटी र विभाग लगायत पार्टीका भातृ संस्थालाई चुस्तदुरुस्त बनाउन पार्टीको केन्द्रीय समिति बैठकमा छलफल जारी छ। पार्टी नेतृत्वको कुरा बुझ्दा बैठक सकिए लगत्तै भातृसंस्था, पार्टीका विभाग, प्रादेशीक समितिहरू लगायत गठन गर्ने जनाइएको छ।

नेपाली कांग्रेसको मेरुदण्डका रुपमा रहेका नेविसंघ, तरुणदल र महिलासंघको एकै चोटी नेतृत्व ल्याउने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ। महिला संघको पुरा नेतृत्व भएर पनि काम गर्न नसकेको, तरुणदलले चार जना पदाधिकारीमा सिमित भएर आसातित सफलता प्राप्त गर्न नसकेको, नेविसंघ केन्द्रीय समिती नै नभएका कारण शैक्षिक एजेन्डाहरू ओझेलमा परेकाले पार्टी यी सबै समितिलाई नयाँ नेतृत्व दिएर गतिसिल बनाउने सोचमा छ।

तरुणदलको चार महिना भित्र पदावधी सकिने र महिला संघको पदावधी सकिनै लागेकाले सबै संगठनमा कांग्रेसले नयाँ नेतृत्व ल्याउने योजना बनाइरहेको छ। पार्टी स्रोतका अनुसार नेविसंघको नेतृत्वमा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाहीलाई ल्याउने तयारी भइरहेको छ। राजीव ढुंगानालाई नेतृत्व दिनेकी भन्ने विषयमा चर्चा भइरहे पनि उनको उमेर निकै घर्केको र नेविसंघको राजनीतिबाट पनि आठ/दश वर्ष टाढा रहेकाले शाहीलाई नेतृत्व दिनु उपयुक्त हुने निस्कर्षमा पार्टी पुगेको बताइएको छ।

थुप्रै पटक कार्यवहाक अध्यक्ष बनिसकेका शाही निवर्तमान वरिष्ठ उपाध्यक्ष भएकाले पनि उनलाई ल्याउँदा कम विवाद हुने पार्टीको आकलन छ।

राजिवलाई तरुणदलको नेतृत्व दिनेमा पार्टी भित्र छलफल भइरहेको बुझिएको छ। तरुणलमा महासचीवमा सरोज थापालाई ल्याएर सवैको सहज व्यवस्थापन गरी भातृ संगठनलाई गतिदिने सोचमा कांग्रेस रहेको छ।

महिला संघमा उर्मिला थपलियालाई र १४ वर्षदेखि निर्वाचन नभएको किसान संघमा ऋषिकेसजंग शाहलाई ल्याउने तयारी कांग्रेसले थालेको छ। दलित संघमा प्रकाश स्नेहीलाई ल्याउने विषयमा छलफल भइरहेको कांग्रेस स्रोतले बतायो।