कांग्रेस मिशन र भिजनका साथ अघि बढ्छ : नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन्। नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको विचार व्यक्त गरे।

राजनीतिमा मिशन र भिजन नहुँदा सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको उनको भनाइ थियो। उनले भने, ‘राजनीतिमा मिशन नहुँदा जनतामा वितृष्णा बढेर गयो। यस कारण राजनीतिले ठीक दिशा लिन सकेको छैन।’

उनले ७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको छ भने।

फरक प्रसङ्गमा उनले नेपाल विद्यार्थी सङ्घ गुटमा लाग्न नहुने सुझाव दिए। नेविसङ्घ स्वचालित हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘नेताबाट सञ्चालित होइन देश र जनताका लागि आफैँ सञ्चालित हुन आवश्यक छ।’

नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष अनमोल अधिकारीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा कांग्रेसका केन्द्रीय सदस्य बद्रि पाण्डेले प्रशिक्षण दिएका थिए।