चन्द्रागिरी नगरपालिकाद्वारा २५ किसानलाई ट्याङ्की वितरण

काठमाडौं । चन्द्रागिरी नगरपालिका अन्तर्गत कृषि विकास शाखाले २५ जना कृषकलाई थोपा सिँचाई आयोजनाका लागि हजार लिटर जाने ट्याङ्की वितरण गरेको छ । आज नगरपालिका प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख घनश्याम गिरीले कृषकलाई ट्याङ्की प्रदान गरेका हुन् ।

उनले कृषकलाई ट्याङ्की प्रदान गर्दै चन्द्रागिरी नगरपालिकामा कालिमाटी जस्तै कृषकको सहभागितामा कृषि बजार बनाउने योजना रहेको बताएका थिए।

‘धरै जमिनमा थोरै फल्ने समस्याबाट किसान पीडित छन्, अब थोरै जमिनबाट धेरै फल्ने प्रविधि विज्ञता भित्र्याएर भए पनि किसानलाई आत्म निर्भर नभई कृषि उद्यमी बनाउने नगरपालिकाको लक्ष्य छ’, नगरप्रमुख गिरीले भने । उनले कृषकका समस्या समाधानका लागि आफू जहिले पनि अग्रपंतिमा रहने बताएका थिए।