चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले फाइदा लिन सकोस्

काठमाडौं । नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुख सी चिनफिङले पाइला टेकेका छन् । यो नेपालका लागि खुसीको कुरा हो । छिमेकी शक्तिराष्ट्र चीनका राष्ट्रपति सी आज नेपालको दुई दिने राजकिय भ्रमणका लागि काठमाडौं पुगेका हुन् ।

शनिबार अपराह्न ४:३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली विमानस्थल पुगेको थियो ।

राष्ट्रपति सीको भ्रमणलाई केन्द्रमा राखेर नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सीको सम्मानमा सलामी अर्पण गरिएको थियो । विमानस्थलदेखि सोल्टी होटल र त्यहाँदेखि राष्ट्रपति कार्यालयसम्मको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्नुका साथै अग्ला घरहरूमा शुक्रबारदेखि नै सुरक्षाकर्मी तैनाथ गरिएका थिए । सीको सवारीका बेला हेलिकोप्टरबाट समेत गस्ती गरिएको थियो । नेपालले सीको स्वागतमा कुनै कसुर बाँकि राखेको छैन ।

यो चिनियाँ राष्ट्र प्रमुखले नेपालमा गरेको २३ वर्षपछिको भ्रमण हो । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । यति लामो समयसम्म चीनका कुनै राष्ट्र प्रमुखले भ्रमण नगर्नु र यतिवेला सीले भ्रमण गर्नुलाई महत्वपूर्ण रुपमा लिइएको छ । यो नेपालका लागि एक अवसरमा पनि हो । तिब्र रुपमा बिकास गरिरहेको चीनले पछिल्लो समय परराष्ट्र नीतिलाई पनि कुसलतापूर्वक अगाडि बढाउन चाहेको छ ।

राष्ट्रपति सीको भ्रमणमा नेपालले ठूला भौतिक पूर्वाधारमा सहयोगका लागि प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिने बताइएको छ । भ्रमणको सदुपयोग गर्दै दुवै पक्षले सकारात्मक सोचका दुई पक्षीय हितका विषयलाई अगाडि बढाउनुपर्छ ।

नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका (मितेरी पुल) देखि धुलिखेलसम्म सडक स्तरोन्नति, चीनसँग जोडिने कोसी, कर्णाली र गण्डकी सडक करिडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने तयारी सरकारले गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुद्रिक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिएर सी भ्रमणको सदुपयोग गर्नुपर्छ ।

चीनका बन्दरगाह जोड्न सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला सिमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माण एवं विस्तार जरुरी यसै विषयलाई ध्यानमा राखी सरकारले सम्झौताको तयारी गरेको हो।

त्यस्तै चिनियाँ पक्षले पनि बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महत्वाकांक्षी परियोजना लिएर अगाडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रसारणलाइनजस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ ।

यस्तो भएमा नेपाल र चीन बिचमा आर्थिक क्रयाकलाप बढ्ने र दुबै देशबीचको सम्बन्ध थप मजबुद हुने देखिन्छ । यस्तो बेलामा नेपालले चीनबाट राम्रो फाइदा लिन सक्नुपर्छ । चीनसँगको व्यापार पारवानदेखि विभिन्‍न नाका खोल्ने विषयमा नेपालले चनाखो बन्‍नुपर्छ ।