जाजरकोटमा औषधि अभाव

जाजरकोट । नलगाड नगरपालिका–६ का सुदाम खड्का जाजरकोट अस्पतालमा खुट्टामा लागेको घाउको उपचार गर्न आए पनि औषधि नपाएको गुनासो गरे। जिल्ला अस्पतालको फार्मेसीमा औषधि नपाउँदा निजी मेडिकलमा गएर औषधि किन्न बाध्य भएको उनले सुनाए। उनले स्वास्थ्य बीमा गर्नुभएको छ, तर अस्पतालको फार्मेसीमा नपाउँदा बाहिर गएर औषधि खरीद गर्न बाध्य भएको बताए।

त्यस्तै कुशे गाउँपलिका– ४ का जनक सिंहले टाइफाइड भएर जिल्ला अस्पतालको फार्मेसीमा औषधि लिन आएको तर नपाएर निजी पसलमा गएर औषधि किन्न बाध्य भएको बताए। आफूले स्वास्थ्य बीमा गरे पनि बाहिरबाट औषधि किन्नुपरेको दुखेसो उनले गरे।

जाजरकोट अस्पतालमा अहिले घाउँमा लगाउने औषधि, घाउँ सिलाउने सिलक आई ब्रोफिन, मुपे्रेसन मलहम, एमपी कोलोकसा सिफेकजिमलगायतका १७ भन्दा बढी औषधि नहुँदा निजी मेडिकलमा गएर खरीद गर्न बिरामी बाध्य भएका छन्। औषधि नपाउँदा सबैभन्दा बढी स्वास्थ्य बीमा गरेका बिरामी मारमा परेका छन्।

आफू विमित भएपनि बाहिर औषधि किन्न रकम खर्च गर्नुपर्दा दोहोरो मारमा परेको उनीहरुको गुनासो छ। जाजरकोटका अधिकांश स्वास्थ्य संस्थामा यही समस्या रहेको पाइएको छ। अघिल्लो आर्थिक वर्षको हिसाब (मलेप) नभएका कारण औषधि खरीदमा समस्या भएकोले पनि औषधि खरीदमा अप्ठयारो परेको अस्पतालका डाक्टर केशर कार्कीले बताउनुभयो। आफ्नै लेखापाल नहुँदा दैनिक कारोवारमा समस्या आएको उनको भनाइ थियो। अस्पतालमा चार दरबन्दी खाली रहेकाले काममा समस्या भएको छ।

जिल्लाका सात वटा स्थानीय तहले औषधि खरीद नगर्दा स्वास्थ्य संस्थामा निःशुल्क पाइने सबै खालका औषधि नपाइएको स्थानीयको गुनासो छ। जिल्लाका तीन ठाउँमा प्राथमिक स्वास्थ्य केन्द्र भएपनि चिकित्सक नहुँदा उपचारमै समस्या हुँदै आएको छ।

नलगाड नगरपालिकाको दल्लीमा तीन महीनादेखि एमबिबिएस दरबन्दीमा कार्यरत चिकित्सक नहुँदा दैनिक स्वास्थ्य सहायकको भरमा भरमा उपचार हुँदै आएको छ। त्यस्तै गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षदेखि चिकित्सकको दरबन्दी खाली छ। बारेकोट गाउँपालिकाको लिम्सामा एक जना करारमा नियुक्त भएका चिकित्सकको भरमा स्वास्थ्य संस्था चलेको छ।

कुशे गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो। गाउँमा केही भएका स्वास्थ्यकर्मीले आवश्यक उपकरणको अभावमा काम गर्न मुस्किल भएको बताएका छन्।

गाउँमा बिरामीको अनुहार हेरेर र हातले छामेर मात्र उपचार गर्नुपर्ने बाध्यता रहेको बताइन्छ। टाढा गाउँबाट स्टेचर, डोकोमा बोकेर बिरामी ल्याइए पनि तोकिएको औषधि र उपयुक्त उपचार नहुँदा दैनिक स्वास्थ्यकर्मी र बिरामीको द्वन्द्व मात्र निम्तिएको स्वास्थ्यकर्मी बताउँछन्।

अधिकांश बिरामी निजी औषधि पसलमा लिएर उपचार गरेर फर्कने गरेको बारेकोट गाउँपालिका–४ का देवी बोहोराले बताउनुभयो। यातायातको पहुँच नहुँदा डोको र स्टेचरमा बोकेर ल्याएको पीडा, औषधि नपाएपछि उठ्ने रिसले गर्दा स्वास्थ्यकर्मी र बिरामीका आफन्तबीच द्वन्द्व बढ्ने गरेको उनको भनाइ थियो।

स्वास्थ्य संस्था टाढा हुँदा र औषधि नपाइने समस्याले गर्दा अधिकांश ग्रामीण क्षेत्रमा स्थानीयवासी रोग पालेर अकालमै ज्यान जाने गरेको स्थानीय शिक्षक बताउँछन्। गाउँमा हुने स्वास्थ्य संस्थामा व्यवस्थापन, भवन र बिरामीलाई राख्ने ठाउँ नहुँदा उपचारभन्दा पीडा बढी हुने गरेको छ।