तान्जानियामा ३ दिने राष्ट्रिय शोक

रासस/सिन्ह्वा । तान्जानियामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले ३-दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

उक्त विस्फोटमा अन्य ७० भन्दा बढी घाइते भएका थिए।

आइतबार बिहान जारी गरिएको वक्तव्यमा तान्जानियाको मोरोगोरोमा शनिबार भएको दुर्घटनामा मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरिएको उल्लेख छ।

राष्ट्रपतिको कार्यालयका सञ्चार निर्देशकद्वारा जारी वक्तव्यमा सरकारले शनिबार, आइतबार र सोमबार शोक मनाइने भएको हो।

शोक मनाइँदा राष्ट्रिय झण्डा आधा झुकाइने बताइएको छ।

राष्ट्रपतिले आफ्नो प्रतिनिधिका रूपमा प्रधानमन्त्री काश्सिम माजालिवालाई घटनास्थल मोरोगोरो पठाउने भएका छन्। घटनास्थल राजधानी दार एस सलामदेखि झण्डै २०० किलोमिटर टाढा पर्दछ।

शनिबार राति प्रहरी अधिकारीहरुले मृत्यु हुनेको संख्या ६४ पुगेको जनाएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।