दसैंमा खाने कुरामा विशेष ध्यान दिउ

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व दसैंको रौनक देसैं भरी छाएको छ । दसैं आएसँगै सबैको मनमा हर्षोल्लास छाएको छ । विभिन्‍न कामको शिलशिलामा बाहिर रहेकाहरू पनि घर गइरहेका छन् । वर्ष दिनमा आउने पर्वमा सबै घरका सदस्यहरू एकै ठाउँमा जम्मा हुने भएकाले पनि नेपालीहरूले दसैंलाई विशेष पर्वका रुपमा मनाउँछन् ।

दसैंमा मिठो मसिनो खाने चलन पनि नेपालीहरूमा परापूर्व कालदेखि चलिआएको संस्कृति हो । दसैंमा प्रायका घरमा मासु पाक्ने गर्छ । दसैं र मासु परिपूरकजस्तै भइसकेका छन् ।

दसैंमा जिब्रोलाई नियन्त्रण गरेर खानेकुरा खानु पर्छ । आआफ्नो परम्पराअनुसार भुटन, मासु, झोललगायतका परिकार बनाएर खाने चलन छ । दसैंमा पाहुनालाई मासु नै पकाएर स्वागत सत्कार गर्ने चलन नै बनिसकेको छ । दसैंमा एक व्यक्तिले दैनिक आवश्यक क्यालोरीभन्दा बढी खाइरहेको हुन्छ ।

चाडपर्वको नाममा मासु धेरै खाने चलन स्वास्थ्यका लागि हानिकारक हुन्छ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड तथा मधुमेह भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ ।

घरमै बनाएका परिकार खाँदा शरीरलाई फाइदा पुग्ने भएकाले कम मसलायुक्त र घरमै बनेका खाने कुरा खानु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । धेरै मसला हालेको खानेकुरा खाँदा विशेषतः मुटुरोगी, युरिक एसिड भएका बिरामीलाई दीर्घकालीन असर पर्ने चिकित्सकहरूको भनाइ छ ।

हामीले प्रयोग गर्ने मासु पुरै स्वच्छ हुनुपर्छ । बजारबाट किनेको मासु हो भने ताजा छ या छैन भनेर किन्ने बेलामै ध्यान पुर्‍याउनुपर्छ । ताजा मासु रातो देखिन्छ । बासी मासु रङ उडेको र छाम्दा गिलो हुन्छ । धेरै दिन मासु सञ्चित गरेर खानु राम्रो मानिँदैन ।

दसैंमा मादक पदार्थ सेवन सकेसम्म नगर्न राम्रो । किनकी दसैंमा त्यत्तिकै अत्याधिक क्यालोरियुक्त खाना खाइन्छ । तेसैमा रक्सी खादा त्यसले स्वास्थ्यलाई थप हानी पुर्‍याउँछ ।

चिकित्सकका अनुसार दसैंको समयमा बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मिर्गौलामा समस्या देखिने, फुड पोइजनिङलगायतका समस्या देखिन्छ । मासुले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । तर, मासु खाने बेलामा ध्यान दिइएन भने त्यसले थप समस्या निम्त्याउँछ । मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएका व्यक्तिले सकभर मासु नखानु नै राम्रो हुन्छ ।