नेता चरित्रवान बनुन्

काठमाडौं । राजनीतिले राज्यको नीतिलाई सही बनाई जनताहरूलाई त्यस बाटोमा डोर्‍याउने काम गर्छ । त्यसको नेतृत्व नेताले गरेको हुन्छ । नेता आम मान्छेभन्दा बढी क्षमता भएको, विकास र जनता प्रेमी हुनुपर्छ । सधै नेताले साँघुरो दायराभन्दा बाहिर निस्केर काम गर्नुपर्छ । पैसा र पदको पछाडि दौडिदा कुनै पनि नेतृत्वले राम्रो काम गर्न सक्दैन । नेता इमानदार र नैतिकवान हुनुपर्छ । यदि त्यस्तो भएन भने देशलाई नै ठूलो क्षती पुग्छ । किनकी देश हाक्ने व्यक्ति भनेकै नेता हो ।

यतिवेला नेपालका नेताहरूमा नैतिकताको खडेरी देखिएको छ । नेताहरू जनताका लागि भन्दा आफ्नो लागि र कार्यकर्ताका लागि बढी सोच्ने भएका कारण नेपाली राजनीति माथि उठ्न सकेको छैन भने राजनीति प्रतिको जनताको विश्वास पनि दिनहुँ खस्कदो छ ।

हालै सभामुख कृष्ण बहादुर महराले गरेको हर्कतले पनि नेताली नेताहरूमा नैतिकताको खडेरी भएको महशुस गरिदिएको छ । सरकार र सांसदलाई मर्यादामा बस्न रुलिङ गर्ने व्यक्तिले नै अमर्यादीत हर्कत गर्दा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै यसले चर्चा पाएको छ । यस्ता कामले व्यक्तिको मात्र नभएर सिंगो देशको गरिमामा आच आउँछ ।

संसद्को मर्यादा जोगाउनेदेखि सिंगो राज्यव्यवस्थालाई मर्यादित, उत्तरदायी र पारदर्शी बनाउन सभामुखको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, सभामुख कृष्णबहादुर महरामाथि महिला कर्मचारीलाई यौन दुर्व्यवहार र पदीय आचरणविपरीत कार्य गरेको गम्भीर आरोप लाग्यो । यसले जनतामा संसय पैदा गरिदिएको छ । उनी प्रतिको जनताको विश्वास ढलेको छ ।

फेरी, नेपाली नेताहरूमा राजनीतिक संस्कारको पनि कमी छ । पावर र पैसाको बलमा कानुनलाई आफू अनुकुल बनाउन खोज्ने प्रवृति नेपाली नेताहरूमा पुरानै हो । जुन प्रवृति महरामा पनि देखियो ।

उनले यौन दुर्व्यवहार गरेकी भनिएकी महिलाले एक दिन अघी सञ्चारमाध्यम सामू महराले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् । चर २४ घन्टा नबित्दै उनको बोली फेरियो । उनले आक्रोसमा आएर आफूले उक्त कुरा बताएको र महरा आफ्नो बाउ समान मान्छे रहेकोसम्म भन्‍न भ्याइन् । यसले प्रस्ट हुन्छ की उनीमाथि बोलि फेर्न किनै दवाव सिर्जना भएको थियो ।

उक्त कुराको थप पुस्टी आज उक्त प्रकरणलाई बाहिर ल्याउने पत्रकार अजयबाबु सिवाकोटीमाथि आएको धम्किले पनि प्रस्ट भएको छ । नेताहरूका गलत कर्मको पर्दाफास हुँदा आत्मआलोचना गर्नुको साटो नेताहरू झनी सत्यतथ्य बाहिर ल्याउने व्यक्तिमाथि खनिन पुग्छन् ।

महिला समानताका लागि संघर्ष गरेका र महिला मुक्तिको पक्षमा चर्को भाषण गर्ने पार्टीकै नेताबाट महिलामाथि यौनजन्य शोषण आरोप गहन विषय हो । आफूलाई आरोप लागेपछि महराले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग पुर्‍याउने जनाए पनि उनको भूमिका गतिलो देखिएको छैन । उनले राजीनामापत्रमा उल्लेख गरेको भाषा शैली पनि प्रस्ट थिएन । जनताले विकासका लागि, देश परिवर्तनका लागि आफ्नो अमूल्य मत दिएर पठाएका हुन् यस्तो अवस्थामा त्यसरी नेता गैरजिम्मेवार बन्न हुँदैन र कुनै आरोप लागिसकेपछि सहज रुपमा अनुसन्धानका लागि मार्ग परस्त गरिदिनु पर्छ ।

कुनै पनि व्यक्ति वा पदमाथि आरोप लाग्न सक्छ । तर, आरोप लाग्दैमा दोषी करार गर्न मिल्दैन । आरोप वा अभियोगबारे निष्पक्ष छानबिन गरी दूधको दूध, पानीको पानी निकाल्नु लोकतान्त्रिक शासन व्यवस्थाको कडी हो । कुनै पनि घटनाको पहिलो अनुसन्धानकर्ता प्रहरी हो । प्रहरीलाई निस्पक्ष अनुसन्धान गर्न दिनुपर्छ । र, प्रहरीले पनि पूर्वाग्रहरी रुपमा अनुसन्धान थाल्नुपर्छ । जनताले मुलुकमा सरकार र कानुन सबैका लागि बराबर भएको महशुस गर्ने वातावरण हुनुपर्छ ।