बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो

काठमाडौं । नेपाल प्रहरीले अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ४३ जनाको मृत्यु भएको जनाएको छ। बाढी र पहिरोमा परी २० जना घाइते भएका छन् भने २४ जना अझै वेपत्ता छन्। हालसम्म एक हजार एक सय ४ जनाको उद्धार गरिएको छ।

‘प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा नेपाल प्रहरी सक्रिय रहेको छ,’ नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३–३ जना, धादिङ, झापा, सिन्धुलीमा २–२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १–१ जना गरी ४३ जनाको मृत्यु भएको छ। मृतकहरु मध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन्।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १ सय जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा ११ सय ४ जनाको उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढी पहिरोमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १–१ जना गरि २० जना घाईते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

सिन्धुली ६ जना, ईलाम र मोरंगमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १–१ जना गरि २४ जना बेपत्ता भएका छन्।