बी एन्ड सीका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ पुर्जी

काठमाडौं । भक्तपुर जिल्ला अदालतले बी एन्ड सी अस्पतालका सञ्चालक विवादित व्यक्ति दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ । अनुसन्धानका लागि प्रसाईलाई पक्राउ गर्न अनुमति दिइएको हो । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि निवेदन दिनजाँदा २० करोड घुस मागेको आरोप लगाएका थिए ।

बिना प्रमाण आफ्नो मानहानी गरेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले मानहानीको मुद्दा हालेका थिए । उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न अनुमति दिइएको हो ।

अनुमतिलगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि उनी फेला परेका छैनन् । प्रहरीले प्रसाईं फरार भएको जनाएको छ ।