मलेसियाका लागि रोजगारी खुल्यो

काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी पुनः सुरु हुने भएको छ । क्वालालमपुरमा बसेको नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी आज १० बुँदे सहमति गरेको छ ।

मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएपछि रोजगारको बाटो खुलेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । बैंठकका लागि सहसचिव घिमिरे नेपाली पक्षको नेतृत्व गर्दै क्वालालमपुर पुगेका थिए ।

‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको छ’, उनले भने ।

सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको उनले बताए ।

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो ।

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ।

मलेसिया गतिराेध अन्त्य भएकाेमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत वर्षदेखि अवरूद्ध नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।