रुस विमान दु्र्घटनाः एरोफ्लोटको जेटमा ‘चट्याङ परेको थियो’

बिबिसी । रुसमा भएको हवाई दुर्घटनामा बाँच्न सफल व्यक्तिहरूले जहाज आकाशमा जाँदै गर्दा बिजुली चम्केर जहाजमाथि परेको बताएका छन्।

आइतवार शेरमियतएभो विमानस्थलमा अवतरण गर्नासाथ ठूलो आगलागी भएको विमानबाट केही व्यक्तिहरू बाँच्न सफल भएका थिए।

७३ यात्रुमध्ये पाँचजना चालकदलसहित ४१ जनाको दुर्घटनामा ज्यान गएको थियो।

दुर्घटनाको अनुसन्धान गरिरहेकाहरूले बिजुली परेको भन्ने दाबीमाथि कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

आधुनिक जहाजहरू आकाशमा चम्किने बिजुलीको मार खप्न सक्ने गरी बनाइएका हुन्छन्। र, रुसको राष्ट्रिय बाहकले विमान “प्राविधिक कारणवश” विमानस्थलमा फर्किएको बताएको छ।

तर यात्रुहरूले विमान उड्ने बितिक्कै आकाशे बिजुलीसँग जुधेको र चालक दलका सदस्यले पनि बिजुलीकै कारण एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुट्न पुगेको बताए।

नाटकीय भिडिओ दृष्यहरूमा विमान धावनमार्गमा नराम्ररी थचारिएको र त्यसपछि भीषण आगलागी भएको देखिएको थियो।

बाँच्न सफल एकजना यात्रु पीटर इगोरोभलाई उद्धृत गर्दै भनिएको छ “विमानले भर्खर भुईँ छोडेको थियो त्यसैबेला चट्याङ पर्‍यो।”

“अवतरण असाध्यै नराम्रो थियो- डरले झण्डै मेरो ज्यान गयो।”

अर्का यात्रु मिखायल सावचेङ्कोले पछाडिको भाग जलिरहँदा आफू कसरी आपत्‌कालीन द्वारहरूमा जडिएका चिप्लेटीमा उफ्रेर बाहिर आउन सफल भएँ भन्ने सुनाए।

अर्का प्रत्यक्षदर्शीले भने, ठूलो गतिमा अवतरण गर्दा “जहाज त फट्याङ्ग्रो झैँ उफ्रिएको थियो।”

अर्का यात्रु दीमित्री ख्लेबुशकीनले संवाददाताहरूसँग भने, “ती परिचारिकाका कारण म बाँचे, असाध्यै तातो थियो, धुवाँ थियो तर ती युवतीहरूले मानिसहरूलाई तान्दै चिप्लेटीमा खसाल्दै गरिन्।”

रुसी समाचार साइट लेन्टाले परिचारिका तात्याना कासात्किनालाई उद्धृत गर्दै भनेको छ- मानिसहरू विमान गुडिरहेकै बेला आफ्नो सीटबाट उठेर ढोकातिर गइरहेका थिए।

उनले भनिन्- “जहाज जलिरहेका बेला मानिसहरू चिच्याइरहेका थिए र आफ्ना नातेदारलाई फोन गरिरहेका थिए।”

“त्यो सबै कुरा अत्यन्त तीव्र गतिमा भयो, केही सेकेण्ड भित्रै…म यात्रुहरूलाई बाहिर धकेल्दै थिएँ। मैले हरेकलाई कमिजका कठालोमा तान्दै घिसारेँ ताकि उनीहरूलाई बाहिर पठाउन ढिला नहोस्।”

विमान रोकिएको ५५ सेकेण्डभित्रै जीवित सबै यात्रुलाई बाहिर निकालिएको विमान सेवा सञ्चालकले जनाएको छ।

प्रत्यक्षदर्शी अलयोना ओसोकिनाले रुसी टेलिभिजन टीभी रेनलाई भनिन्- उनले धावनमार्गमा आगो दन्किरहेको विमान गुडेको देखिन्।

“आगोले विमान जलाइरहेको थियो।”

“यो भयानक दृश्यको हामी प्रत्यक्षदर्शी भयौं, हाम्रै आँखाका अगाडि एउटा आगो लागेको जहाज धावनमार्गमा गुडिरहेको थियो।”

अर्का प्रत्यक्षदर्शी प्याट्रिक होर्लाचरले बीबीसीलाई भने, अर्को उडानमा जानु केही अगाडिको त्यो दृश्य “विस्मयकारी थियो।”

सुखोइ सुपरजेट-१०० विमानले आइतवार स्थानीय समय अनुसार साँझको ६ बजेर २ मिनेटमा जमिन छोडेको थियो। उक्त विमान उत्तरी रुसी सहर मुर्मन्स्क जाँदै थियो।

त्यसका चालक दलले उडेको केही बेरमै खराब मौसमका कारण “विमानले काम गर्न नसक्ने” स्थिति आएको भन्दै दुखदायी सङ्केत पठाएका थिए।

त्यसपछि विमानले आपत्‍कालीन अवतरण गर्न दुईपटक प्रयास गर्‍यो। पहिलो प्रयासमा विमानको गति एकदम तीब्र रहेको र दोस्रो प्रयासमा चाहिँ स्वचालित प्रणाली विफल भएको रुसको समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ।

इन्टरफ्याक्सका अनुसार विमान कालोपत्रे भुईँमा उफ्रिँदै थच्चिँदै गर्‍यो, विमानको पछाडिपट्टिको तल्लो भाग बजारियो र विमानमा आगो लाग्यो।

चालकदलले हवाई ट्राफिक नियन्त्रकसँग सम्पर्क गुमाएपछि जहाजको इन्धन मस्कोमाथि फ्याँक्दा अति खतरापूर्ण हुनसक्ने भन्दै पुरै इन्धनसहितको विमाननै अवतरण गरेको समाचार संस्थाले जनाएको छ।

“३७ जना बाँच्न सफल भए- ३३ यात्रु र चारजना चालकदलका सदस्य,” विमान दुर्घटनाको अनुसन्धानमा संलग्न अधिकारी येलेना मार्कोभ्स्कायाले भनिन्।

मुर्मन्स्कका कार्यबाहक गभर्नर एन्ड्रेए चिबिसले दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १५ हजार डलर दिने बताइएको छ।

र, अस्पतालमा उपचार गराइरहेकाहरूलाई साढे सात हजार डलर उपचार खर्च दिने बताइएको छ।

रुसको आपत्कालीन मामिलासम्बन्धी मन्त्रीले सुपरजेट-१०० विमानको उडान बन्द गर्ने कुनै योजना नरहेको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाबारे जानकारी गराइएको र उनले पीडितका परिवारप्रति समवेदना प्रकट गरेको बताइएको छ।

मुर्मन्स्क क्षेत्रमा शोक व्यक्त गर्नका लागि तीन दिन छुट्याउने घोषणा गरिएको छ।

वर्षैपिच्छे दशौं लाख व्यावसायिक उडानहरू भइरहँदा आकाशमा चट्याङ्ग पर्नु तुलनात्मक रुपमा सामान्य नै हो।

अलुमिनियम प्रयोग गरी बनाइएका परम्परागत विमानहरूको बाहिरी भागले कवचको जस्तो काम गर्छ जसले यस्ता किसिमको बिजुलीबाट कुनै हानी हुन दिनबाट जोगाउँछ र यात्रा सुरक्षित बनाउँछ।

नयाँ केही विमानले चाहिँ बाहिरी भागमा विद्युतीय प्रवाह कम हुने कार्बन फाइबरहरू प्रयोग गरेका हुन्छन् जसलाई तारको जाली बुनेर जोगाउन आवश्यक हुन्छ।

त्यसबाहेक इलेक्ट्रोनिक सामानहरू र विमानको इन्धन राख्ने ट्याङ्कीमा विद्युतीय झड्काहरूबाट बचाउन बलिया कवचहरू राखिएको हुन्छ।

बिजुली चम्कँदा प्राविधिक समस्या आउन सक्छ जसले गर्दा जोगिनका लागि विमानलाई अन्यत्र मोड्ने या आपत्कालीन अवतरण गराउनुपर्छ। तर यस्ता खालका कारणहरूबाट दुर्घटना बिरलै हुनेगर्छ।

त्यस्ता झट्काहरू विमानका रहेका मानिसहरूले थाहा गर्नसक्छन्। यात्रुहरूले ठूलो आवाजहरू सुन्नसक्छन् अथवा विमानभित्र चर्को बिजुली चम्केको अनुभव गर्नसक्छन्।