होसियार- डेंगुले ज्यान लेला

काठमाडौं । यतिवेला देशैंभरी डेंगुको प्रकोप देखिएको छ । करिव दुई महिना पहिले देखिएको डेंगु संक्रमण अझै रोकिँएको छैन । झनै यसले भयावह रुप लिइरहेको छ ।

तीन दिन अघि (बिहीबार) मात्रै कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई डेंगुको संक्रमण देखिएको थियो । यसरी डेंगु संक्रमण बढे पनि सरकारले भने डेंगु परीक्षण गर्ने किटको अभाव भएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना जारी गर्दै र्‍यापिड डाइग्नोस्टिक टुलका रूपमा प्रयोग गरिने किट अभाव भएको भन्दै वैकल्पिक उपाए अपनाउन आग्रह गरेको छ । उसले लक्षणका आधारमा रगतमा सेता रक्तकोषका जाँच, प्लेटलेटको काउन्ट र हेमाटोक्रिट परीक्षण गरी रोग पहिचान गर्न आग्रह गरेको हो ।

किटको प्रयोगबाट परीक्षण गर्दा तत्काल रोग पोजेटिभ वा नेगेटिभ थाहा हुने भए पनि किट अभाव भएपछि संक्रमित मर्कामा पर्ने भएका छन् ।

महाशाखाका किटजन्य रोग विशेषज्ञ डा. प्रकाशप्रसाद साहले विभिन्न अस्पतालबाट किटको माग अत्यधिक भएपछि अभाव भएको हो ।

सरकारले गत वर्ष १० हजार किट खरिद गरेकोमा अब ५ सय हाराहारीमा मात्रै बाँकी रहेको उनले बताए ।

केहो डेंगु

डेंगु पोथी लामखुट्टेको टोकाइबाट आउने एक प्रकारको ज्वरो हो । यो संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेपछि यो रोग सर्छ ।

सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले यसको संक्रमण सहरी क्षेत्रमा बढी हुन्छ ।

डेंगु सार्ने प्रजातिको लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । यसले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन् । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो । यो आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ यस्तो अवस्थामा उचित उपचार नपाए मान्छेको ज्यानै जान सक्छ ।

लक्षणहरू

– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरि तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घाँटी बस्‍नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्‍नु / बान्ता आउनु
– छटपटी हुनु
– रिँगटा लाग्‍नु
– निद्रा नलाग्‍नु
– हड्डी तथा मांसपेशी निकै दुख्नु
– आँखा तथा घाँटी रातो हुनु

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेङ्गु लाग्ने लामखुट्टे day biter अर्थात् दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने
– भिडभाडमा सकभर नजाने
– घर वरिपरि पानी जम्‍ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्‍ने, बाथरुम ओभानो राख्‍ने, टायर / पाइप आदिमा पानी जम्‍न नदिने
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्‍न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जाँच तथा उपचार गर्ने
– प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।