Logo
१६ चैत्र २०८०, शुक्रबार

भिडियो सार्वजनिक भएपछि कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार ०२:०३ मा प्रकाशित

चितवन । कृषि तथा वन विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयले निलम्बन गरेको छ । दत्तले जुम बैठक चलिरहँदा महिला कर्मचारीसित अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको हो ।

गएको मङ्गलवार भएको जुम बैठकमा एक जनाको प्रस्तुति भइरहँदा डिन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको थियो । त्यस्ता दुईवटा भिडियो सार्वजनिक भएपछि दत्तलाई निलम्बन गरेर छानबिन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले दत्तलाई निलम्बन गरेर तीन सदस्यीय छानबिन समिति बनाएको जानकारी दिनुभयो । विश्वविद्यालयका प्राध्यापक डा श्रवणकुमार साहको संयोजकत्वमा प्रा.डा. दुर्गा देवकोटा र प्रा नारायणराज जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

पन्ध्र दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको उहाँले बताउनुभयो । विश्वविद्यालयले डिन दत्तलाई निलम्बनको पत्र बुझाएको छ । डिन दत्तलाई तत्काल कारबाही गर्न चौतर्फी दबाब परेपछि निलम्बन गरिएको बताइएको छ ।