पाकिस्तानमा विमान दुर्घटनाः १०७ जनाको मृत्यु

एजेन्सी । शुक्रबार साँझ पाकिस्तानमा भएको विमान दुर्घटना १०७ जनाको मृत्यु भएको कराँचीका मेयरले पुष्टि गरेका छन । दुर्घटनामा परेको विमानमा रहेका ९९ यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको उनले बताएका छन ।

मेयर वासिम अख्तरले विमान बस्ती क्षेत्रमा खसेकाले ५, ६ ओटा घर समेत ध्वस्त भएको बताएका छन । क्षति भएको घरमा कोही मानिस थियो वा थिएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको बताए ।

विमान दुर्घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत गहिरो दुःख व्यक्त गरेका छन । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति उनले सहानुभूति व्यक्त गर्दै उद्धार तथा छानविन गर्न पनि निर्देशन दिएका छन ।

दुर्घटनाग्रस्त विमान पाकिस्तानकै लाहोरदेखि कराँचीतर्फ आइरहेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरणका अब्दुल सतार कोखरले जनाएका छन ।
विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु एक मिनेट अघि नै दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिब समुदायका मानिस बस्ने गरेको पाकिस्तानी मिडियाले जनाएका छन । प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए ।