गजल

० सुधा शाह

आफूलाई भुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म
मनैदेखि खुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म

तिखो प्रहार सहेर नि काँडाको त्यो कापबाट
फूलजस्तै फुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म

दुख्ने मुटु भित्र राख्दा बिझाउने पो हो कि भनी
यीँ आँखामा हुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म

सजिएर फुल्न परे पनि अर्कैको घर आँगनीमा
भमरा झैँ डुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म

नशा नशामा पीडाहरु सलबलाउन थाल्दा पनि
मुस्कान बीचै झुलेर तिमीलाई माया गर्ने मान्छे हुँ म

(रुकुमकोट, रुकुम, हाल नेपालगन्ज)