सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्ने कुरा अन्योलमा

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न अबको एक सातामै ट्रिनिडाड उन्ड टोबागो पुगिसक्नुपर्नेछ । तर अहिलेसम्म उनको हवाई उडानको टुंगो छैन । कोरोनाका कारण उडानको टुंगो नभएपछि सन्दीपले सिपिएल खेल्नेबारे अन्योज भएको हो ।

हवाई उडानका कारण सन्दीपले सिपिएल खेल्न पाउनेबारे टुंगो नलागेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए । ‘ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे केही सोच्न सकिएको छैन’, उनले भने । सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म त्यहाँ पुगिसक्नु पर्ने हो ।

सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सो निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । ‘सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ’, व्यवस्थापक सिवाकोटीले भने । सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सिपिएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए ।

यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ ।