देउवालाई पौडेल समूहले भन्यो- विभाग विस्तार रोक्नुस्

काठमाडौं । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र किचलो बढ्न थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बन्दै गएको छ ।

आज पौडेल निकट केन्द्रीय सदस्यको भेला बसी विभागलाई पूर्णता दिने काम रोक्न सभापति देउवालाई लिखित ध्यानाकर्षण गराउने निर्णय भएको पौडेल निकट केन्द्रीय सदस्य कल्याण गुरुङले बताए ।

‘सुरुमा सभापतिज्यूलाई लिखित ध्यानाकर्षण गराउँछौं, त्यसको सम्बोधन नभए लिखित पत्र बुझाउने निर्णय गरेका छौं’, पौडेलनिकट केन्द्रीय सदस्य कल्याण गुरुङले अक्षरपाटीसँगको कुराकानीमा भने ।

उनले अहिले आफूहरूले नरम रुपमा विभाग रोक्न आग्रह गर्दा पनि सभापतिले नमानिरहेको आरोप लगाए ।

देउवाले महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रियता देखाएको आजको भेलाको निष्कर्ष रहेको उनले बताए ।

केही समय अघि मात्रै वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा महाधिवेशनको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने प्रावधान भए पनि पार्टी सभापतिले विधान विपरित काम गरिरहेको भन्दै उजूरी गरेका थिए।

तर, देउवाले आफूहरूको कुरै सुनिनरहेको पौडेल समूहको आरोप छ ।