खाँडादेवी गाउँपालिकाले ज्यादती गरेको स्थानीयको गुनासो

काठमाडौं । रामेछापको खाँडादेवी गाँउपालिकाले जुन प्रयोजनमा जग्गा लिएको हो त्यसअनुसार काम नगरेको भन्दै जग्गादाता तथा स्थानीयवासीले प्रयोजनअनुसार काम गरिनुपर्ने माग गरेका छन ।

खाँडादेवी गाउँपालिका अनियमितता संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरि उद्देश्यअनुसार काम गर्न माग गरेका हुन । सो गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ र ६ नम्बर वडाका अध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले जग्गा लिँदाको प्रयोजन अनुसार काम नगरेको स्थानीयवासीको आरोप छ ।

गाउँपालिकाको चोप्राङमा ईलाका प्रहरी कार्यालय भवन निर्माणको लागि स्थानीय वासिन्दाले चार रोपनी तीन पैसा जग्गा दानपत्र गरेका थिए ।  भवन निर्माणका लागि बोलपत्र आह्वान भएर ठेक्का पर्दा र निर्माण कार्य अघि बढाउने बेलामा पालिकाका प्रवक्तासमेत रहेका वडाअध्यक्ष पुष्कर कार्कीले काम नै गर्न नदिएको पनि उनीहरुको आरोप छ ।

जग्गादाताहरु शान्ता कार्की र बिन्दा कार्कीको परिवारलाई वडाअध्यक्ष र पालिकाका अध्यक्षले आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएको तर जग्गादाताहरुले उनीहरुको राजनीतिक दबाब अस्विकार गर्दा भवन निर्माणमा बाधा सिर्जना गरिएको आरोप छ ।  पालिकाका अध्यक्ष तामाङ र वडा नम्बर ६ का अध्यक्ष कार्की दुवै जना सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी समेत रहेका नारायण कार्कीले आफूहरुले ईलाका प्रहरी कार्यालय निर्माणको लागि जग्गा दान गरिसकेकोले सो जग्गामा  चाडोभन्दा चाडो भवन बनाईनुपर्ने माग गरे । उनले भने, ‘यदि भवन निर्माण नगरेर बस्ने हो भने हामी गाउँपालिकाको विरुद्धमा कानूनी प्रक्रियामा जान्छौं ।’

जग्गादाता परिवारकै सदस्य डोरबहादुर कार्कीले पालिकाले राजनीतिक पूर्वाग्रह राखेर सामाजिक कार्यमासमेत अवरोध गरेको गुनासो पोखे ।