लकडाउन खुलेसँगै बडिमालिकामा बढ्यो चहलपहल

धनगढी । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिकस्थल बाजुराको बडिमालिकामा हेरक वर्ष साउन शुक्लपक्षबाट शुरु हुने मेलाको चहलपहल सुरु भएको छ । जनैपूर्णिमाको अघिल्लो दिन मूल पूजा गरेर यो मेला समापन हुने गर्दछ ।

कोरोना महामारीका कारण करिब चार महिना रोकिएको चहलपहल यस क्षेत्रमा पुनः सुरु भएको छ । प्रसिद्ध तीर्थस्थल बडिमालिका शक्तिपिठमा पूजा तथा दर्शन गर्न जाने भक्तजनको यतिबेला चहलपहल बढेको हो ।

बडिमालिकको दर्शन तथा पूजाआजा गर्दा चिताएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ मानिस पुग्ने गरेका छन । यहाँ लाग्ने मेलामा विभिन्न जिल्लाबाट भक्तजनको भीड लाग्ने गर्दछ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार मल्ला गिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भई यसै स्थानमा मालिकादेवी उत्पन्न भएको उल्लेख छ । मालिकादेवी सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रुपमा रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज पाध्याले बताए ।

बडिमालिकामाईको पूजाअर्चनाका लागि बाजुरा सदरमुकाम मार्तडीबाट पूजा सामग्रीसहित सरकारी टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । पूजा तथा दर्शनका लागि बाजागाजासहितको टोलीलाई बिदाइ गरिएको मार्तडी नगरपालिकाका प्रमुख पदम बडुवालले जानकारी दिएका छन ।

पूजाका लागि नगरपालिकाका कर्मचारी विवेश शाह नेतृत्वको टोली बडिमालिका प्रस्थान गरेको हो । टोलीलाई पैदल हिँडेर बडिमालिका पुग्न दुई दिन लाग्ने बताइएको छ । औपचारिकरूपमा पूजाआजा गर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालीकोटबाट समेत सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेका छन् ।

पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने प्रचलन छ । अछामको प्रसिद्ध वैद्यनाथ धामबाट पनि पूजा गर्ने टोली १० दिनअघि नै प्रस्थान गरिसकेको जनाइएको छ ।

बाजुराका चार शक्तिपिठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन स्थानीय परम्पराअनुसार एकसाथ पूजाअर्चना हुने परम्परा रही आएको छ ।

बडिमालिका शक्तिपिठ

भौगोलिकरूपमा निकै विकट जिल्ला बाजुराको मध्यभागमा रहेको बडिमालिका शक्तिपिठले जिल्लाको परिचय मात्र होइन, देशैभर गराएको छ । समुद्री सतहबाट चार हजार २१६ मिटरको उचाइमा रहेको यो क्षेत्रमा एक हप्तासम्म पैदलयात्रा गरेर भक्तजन पुग्ने गरेका छन् ।

दरमुकाम मार्तडीबाट उत्तरपूर्वतर्फ पर्ने यो क्षेत्रमा पुग्न सडक यातायातको सुविधा नहुँदा भक्तजनले पैदलै हिँडेर जानुपर्ने बाध्यता छ । यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्णसमेत छ ।