सरकारी निकाय महामारीमा कमाउ धन्दामा लागे, प्रधानमन्त्रीले बचाउ गरेः डा महत

काठमाडौं । प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिका संयोजक तथा पार्टीका सह–महामन्त्री डा प्रकाशशरण महतले कोरोना महामारीलाई मौकाका रुपमा लिएर सरकारी निकाय र मन्त्रालय कमाउ धन्दामा लागेको बताएका छन । डा महतले कोरोना महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता देखाएको र व्यापक अनियमितता भएको दावी गरे ।

महामारीको अवस्थामा औषधिको सहज उपलब्धतामा समस्या र समाधानका बिकल्पबारे आज समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा भएको छलफलमा अनियमितता र उदाशिनताका बारेमा सबैले खबरदारी गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाली औषधि बिक्रेता संघको आयोजनामा काँग्रेसका सह–महामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डा महत नेतृत्वको टोलीले महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुँचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो ।

छलफलमा बोल्दैं समितिका संयोजक डा महतले भने, ‘सरकारी निकाय र मन्त्रालय महामारीको मौका छोपेर कमाउ धन्दामा लागेको पाइयो । यस्तो अनियमितताको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारवाही हुनुपर्छ ।’

सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण महामारीको रोकथाम र जनताको उपचारमा समस्या भएको उनले बताए । उनले सम्बन्धित सबैलाई सरकारको खबरदारी गर्न पनि अपिल गरे ।

कार्यक्रममा काँग्रेसका नेता तथा अनुगमन समितिका सदस्यहरु एन पी सावद, डा प्रभु बुढाथोकी र नेपाली औषधि बिक्रेता संघका पदाधिकारीहरुको सहभागिता थियो ।