सारङ्गीको र्‍याइँर्‍याइँ

० सोझो गाउँले

जीवनको महफिलमा
हृदयको हार्मोनियम बजाउँदाबजाउँदै
आन्द्राहरु खुम्चिएर पेट कराए पनि
जिजीविषाको सारङ्गी रेटेर मैले
उदास आकाश घन्काएकै हुँ
आफ्नै शरीरको छाला काढेर
बोसो झिकेर खरी लगाउँदै
नसाहरु तन्काएर मादल कसेपछि
आफ्नै छाती ठोकेर मैले
सुतेको धरती बिउँझाएकै हुँ

पूर्णिमाको जून सबैले मन पराउँछन्
तर जूनले सहेका चोटका दागहरुप्रति
कसैले दिलचस्पी राख्दैनन्
बाँसुरीको धुन सबैले मिठो भन्छन्
तर बाँसुरीमा जस्तै
बाँसुरी बजाउनेको जीवनमा परेका प्वालहरु
कसैले देख्दैनन्

फूल टिपेपछि बोटलाई बिर्सिनेहरु सुन !
सुन ए, फल खाएर हाँगा भाँच्नेहरु सुन !
तिमीहरुले निलेको प्रत्येक गाँसमा
मेरो रगतको स्वाद मिसिएको छ
तिमीहरुले लिएको प्रत्येक सासमा
मेरो आँसुको बास्ना घोलिएको छ
तिमीहरु बसेको महँगो आवासमा
मेरो पसिनाको रङ लत्पत्तिएको छ
मेरो मुटुको गीतको अवमूल्यन गरेर
रोबोर्टलाई सारङ्गीको कथा नसोध

गएर, भोकले रोएको गाइनेलाई सोध
मेरो आत्माको ईश्वरको अपमान गरेर
कम्प्युटरलाई कलमको व्यथा नसोध
दुनियाँले पागल घोषणा गरेको कविलाई हेर
ए मूर्तिको पूजा गर्ने भक्तजनहरु !
छिनु चलाउँदा ठेला उठेका हातहरुको
मलमपट्टी गर्नु पर्दैन ?

ए मन्दिरको महिमा गाउने पुजारीहरु !
मान्छेको मनलाई मन्दिर बनाउनु पर्दैन ?
ए फूल देखेर थुक निल्ने अनुरागीहरु !
फूल जस्तै जीवनलाई सुन्दर बनाउनु पर्दैन ?
सिंहासनमा बसेका धृतराष्ट्रहरुले
सदन पसेका दुर्योधनहरुले
यत्ति कुरा बुझ्नुपर्छ-

ऐना फुट्यो भने
अनुहार हेर्न पाइँदैन भनेर
माली नै जिउँदो नरहे
बगैँचा रहँदैन भनेर
र जरुर बुझ्नुपर्छ-
सारङ्गीलाई पनि
भोक लाग्छ भनेर…।