अभावमा सम्भावना देख्ने अली- जो दिँदैछन् नेपाल आमालाई गतिलो उपहार

अक्षरपाटी विशेष

असगर अलिलाई कसैले सोधोस्, सफलताको सुत्र के हो ? उनी सजिलै जवाफ दिन्छन्– गर्नुपर्ने काम, गर्न सक्ने काम र गर्न मनलाग्ने काम जसले गर्यो ऊ सफल भयो ।

आँटेको र सोचेको काम भएन भने निराश भइहाल्ने मानवीय स्वभाव हुन्छ । तर अलिको यहाँ पनि बुझाइ फरक छ, भोगाई भिन्न छ । उनी भन्छन्–‘एउटा काम सफल नहुनु वा एउटा लक्ष प्राप्त नहुनु सायद त्योभन्दा उत्तम अवसरको ढोका खुल्नु हो ।’

दर्शनजस्तै लाग्ने जवाफ दिन सिपालु अलि को हुन त ? सूचना प्रविधिमा गहिरो ज्ञान भएका अलि पदले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ हुन । पेशाले उनी नेपालमा ई–सेवाको सुरुवातकर्ता । त्यसको परिकल्पनाकारमध्ये प्रमुख एक ।

लि पनि जीवनमा सिभिल इन्जिनियर बन्न चाहन्थे । बुटवलको न्यु होराइजन स्कुलबाट एसएलसी पास गरेपछि उनी साथीभाइको लहलहैमा लागेनन् । त्यसबेला तराईं क्षेत्रबाट विद्यार्थीहरु पढ्न वा अन्य काममा कागि प्राय भारततिर जान्थे । उनी काठमाडौं आए । अमृत साइन्समा भर्ना भए र आईएससी पास गरे । त्यसपछि सिभिल इन्जिनियर बन्न उनले पुल्चोकमा परीक्षा दिए । नाम ननिस्किएपछि उनको एक वर्ष त्यसै जाने भयो ।

अर्घाखाँचीको साविक पाली गाविसमा आमा शानीमनसुरन र बुवा अकबर अलिको जेठो सन्तानका रुपमा जन्मिएका अस्गर अलि उमेर ३७ मात्रै भए । २०३९ साल जेठ २ मा जन्मिएका उनले कलिलो उमेरमै नेपाली बजारमा एउटा नयाँ इन्डस्ट्रि नै खडा गरिदिए । आज उनको इन्डस्ट्रिमा २५ लाख नेपाली जोडिएका छन् ।

त्यो कसरी सम्भव भयो ? उनले भने, ‘हामी आफूलाई कहिल्यै समय दिँदैनौँ, आफू को हुँ, के गर्न सक्छु, मेरो क्षमता के हो ? भनेर हामी कहिल्यै एक घन्टा सोच्दैनौँ ।’ सिभिल इन्जिनियरिङ पढ्न नाम ननिस्किएपछि अलिले आफूलाई अध्ययन गरे । आफ्नो क्षमता नियाले । म को हुँ र केका लागि जन्मिएको हुँ भन्ने आफैभित्र खोजे । ‘त्यसैको परिणाम हो आजको मेरो यात्रा,’ अलिले भने ।

यो सबै सम्भव गर्न कठिन पक्कै थियो होला । उनी अर्थशास्त्रीय उत्तर दिन्छन् । ‘हामी नेपालीको सोचाइ, अझ हाम्रो पुस्तामा नेपालमा केही छैन भन्ने परेको छ,’ वि

अलिले भने, ‘हो केही नहुनु पनि अवसर हो । जहाँ केही हुँदैन नि त्यहाँ हरेक थोक आपूर्ति गर्ने अवसर हुन्छ र त्यो खपत पनि हुन्छ ।’
उनको नाम सिभिल इन्जिनिरिङमा निस्किएन । नाम ननिस्केकोमा उनी निराश भएनन् । अर्को वर्ष फेरि कोसिस गर्ने सोचमा उनी बसे । तर त्यो अवधिमा उनले आफूलाई चिन्ने, आफैसँग सम्बाद गर्ने र आफूलाई आँक्ने मौका पाए । ‘त्यसबेला भरखर भरखर काठमाडौंमा कम्प्युटर आइरहेका थिए, मैले पनि कम्प्युटर लिएँ’, उनले भने, ‘यसो हेर्दै, खोज्दै जाँदा संसारका जति पनि धनाढ्य छन्, तीं सबै आईटी क्षेत्रकै पाएँ ।’

अलीले आम नेपालीका लागि एक गतिलो उपहार निकट भविश्यमै प्रदान गर्ने योजना अन्तिम चरणमा पुर्याएका छन् । त्यो हो– नागरिक एप । अलि भन्छन्, नेपाल आमाका लागि एक छोराका तर्फबाट यो मेरो सानो उपहार हुनेछ ।’

अनि बदलियो अस्गर अलिको बाटो । उनमा सवार भएको सिभिल इन्जिनियर बन्ने भूत कम भयो । उनले चाहना बदले । आफूभित्रको रुचीलाई चिने, गर्नुपर्ने काम ठम्याए र गर्नसक्ने अवसरको खोजीमा लागे । ‘त्यसपछि मैले कम्प्युटर कहाँ राम्रो पढाइ हुन्छ भन्ने सर्च गर्न थालेँ । त्यसमा पनि मैले सफ्टवेर कोर्स हेरेँ’, उनले भने, ‘मैले पोखरा युनिभर्सिटीको सेलेबस राम्रो देखेँ । म त्यसै अन्तर्गतको काठमाडौंस्थित एनसीआईटी कलेजमा बीई सफ्टवेर इन्जिनियरिङमा भर्ना भएँ ।’

भर्ना हुनु अघि नै अलिले चार वर्षको योजना बनाइसकेका थिए । उनको मनमा चार वर्षमा सफ्टवेर निर्माण गरिछाड्ने दृढता थियो । त्यही मुताविक उनी अध्ययनमा सक्रिय भए । जाभामा बढी फोकस गरे । भाग्यबस त्यहीबेला सँगै पढ्ने साथी विश्वास ढकालसँग उनको सामिप्यता बढ्यो । अलिको तिक्ष्णता र प्यासन देखेर ढकलाले ‘मसँग एफ १ सफ्ट इन्टरनेशनल कम्पनी छ मिलेर काम गरौँ’ भने ।

सन २००३ तिरको कुरा थियो, अलिलाई दक्षता प्रदर्शनका लागि त्यो अफर सुनमा सुगन्ध बनिदियो । ‘त्यसबेला आजकोजस्तो मोबाइल चल्तीमा थिएन । र पनि पैसा खर्च गर्नसक्ने । बैंकमा खाता पनि भएकाहरुलाई लक्षित गरेर काम सुरु गर्यौँ,’ अस्गर अलि करिअरका सुरुवाती दिन सम्झन्छन्, ‘उनीहरुलाई लक्षित गरेर हामीले एसएमएस बैकिंङ सेवाको सफ्टवेर बनायौँ, यो प्रविधिले एसएमएस गरेर आफ्नो बैंक खातामा भएको पैसा चेक गर्न मिल्ने भयो ।’

बैंकहरुलाई कन्भिन्स गरेर २००७ मा सुरु गरेको यो सेवा निकै रुचाइयो । पछि यसलाई विकसित गर्दै विस्तार गर्दै डिपोजिट गरेको, विथड्र गरेको एसएमएस आउने, एउटै बैंकको एउटाबाट अर्को खाता हुँदै एक बैंकको खाताबाट अर्को बैंकको खातामा पैसा ट्रान्सफर गर्ने सेवा यही सफ्टेवरमा थपियो ।

‘यो सेवा छोटो समयमै हिट भयो’, अलिले भने, ‘तर आम नेपाली बैंकमा जोडिएको अवस्था पाएनौँ ।’ सबै नेपालीको खाता नभए पनि ‘वालेट बैंक’मा कसरी जोड्ने भन्ने योजना बुन्ने काममा लागे अलि र उनका साथी सुभास शर्मा, सभास सापकोटा र रोसन लामिछानेलगायत । त्यसको परिणाम जन्म भयो– नेपालमा ई–सेवा ।

राष्ट्र बैंकले पनि नियमन र व्यवस्थापनको परिकल्पना गरिनसकेको अवस्थामा सुरु भएको यो सेवामूलक नयाँ इन्डिस्ट्रिको वैधानिक बैंक खातासँग सम्बन्धित रहेर सुरु भयो । यसमा सेवाग्राही र सेवा प्रदायकलाई जोड्न र सहमत गराउन केही सकस नभएको होइन । अलि सम्झन्छन्, ‘सकस केमा हुँदैन, गाह्रो सम्झ्यो भने त भात पनि मुछेर खान गाह्रै लाग्ला नि !’

सन २००९ मा सुरु भएको पालमा ई–सेवासँग आज देशका २५ लाख नागरिक जोडिएका छन् । सन २०२० सम्ममा २० प्रतिशत नेपाली यो सेवामा आवद्ध बनाउने आफूहरुको लक्ष रहेको अलिले बताए । ई–सेवा नयाँ उद्योगको रुपमा त फस्टायो, यसले सेवाग्राहीलाई के फाइदा भयो त ? जिज्ञामा उनी भन्छन्, ‘ई–सेवामार्फत एक लाख सेवाको भुक्तानी गर्न सकिन्छ । यसले सबैभन्दा ठूलो कुरा सेवाग्राहीले लाईनमा बिताउनुपर्ने समय बचत भयो, अर्को कुरा हरेक कुरा ई सेवामार्फत भुक्तानी गर्नेले महिनामा कम्तिमा हजारदेखि १५ सय बचत गर्छ ।’

यो बचत वितरण प्रणालीमा लाग्ने शुल्कबाट उपभोक्तालाई प्रदान गरिने गरेको अलिले बताए । ‘ई सेवाले सेवाप्रदायक र सेवाग्राहीलाई सिधा सम्पर्क गराइदिन्छ, त्यसो भएपछि सेवा वितरण प्रणालीमा लाग्ने बीचको शुल्क लाग्दैन,’ अलिले स्पस्ट पारे ।

अलिको नजरमा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञका रुपमा अलि जिम्मेवारीमा छन् । प्रधानमन्त्रीका हरेक प्राविधिक पक्षमा सघाउनेदेखि अन्तर्राष्ट्रि स्तरमा भिडियो कन्फ्रेन्स गराउनेसम्मको जिम्मेवारी उनीसँग जोडिएको छ । सहयोगी टिममा बसेर काम गर्दा प्रधानमन्त्रीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनाप्रति उनी निकै आसावादी छन् । राजनीतिक विषयबस्तुमा प्रवेश गर्न त्यति नरुचाउने विज्ञ अलि प्रधानमन्त्रीको ‘आर्ट अफ च्वाईस’बाट निकै प्रभावित छन् ।

‘सपना नदेखि कुनै कुरा सम्भव हुँदैन’, अलि भन्छन्, ‘त्यो सपना चाहे परिवार निर्माणका लागि घर मुलीले देखोस कि, देश निर्माणका लागि प्रधानमन्त्रीले ।’ उनको मत छ, सपना देख्नु राम्रो हो तर त्यो सपना साकार गर्न परिवारका सबै सदस्य उत्तिकै चिन्तित र जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ । त्यसो भए हावाबाट विजुली, पाईपबाट ग्यास, मानो रेलको पूर्वपश्चिम यात्रा सम्भव होला त ? अलिको जिकिर छ, ‘यो सपना निकै सम्भव र साकार हुने सपना हो, संसारमा भएकै कुराको परिकल्पना प्रधानमन्त्री ज्यूले गर्नुभएको हो, तर यहाँ त्यसलाई कसरी सम्भव पार्ने भनेर सबैले चिन्तन गर्ने परिपाटीको विकास अझै हुन सकेको छैन । समस्या त्यहाँ हो ।’

प्रधानमन्त्री ओली आईटी फ्रेन्डली भएको बताउँदै अलिले भने, ‘सिंगो देशलाई सूचना प्रविधिसँग कसरी जोड्ने भन्नेमा उहाँ चिन्तनशील हुनुहुन्छ, त्यसको उदाहरणका रुपमा उहाँले मन्त्रिपरिषद्लाई पेपरलेस बनाउनुभयो ।’ युवापुस्तालाई प्रधानमन्त्री ओलीले माया मात्र होइन विश्वास पनि निकै गर्ने गरेको आफूले पाएको अलिले बताए । ‘देशको भविश्य नै युवा हो, देश सम्हाल्ने र बनाउने नै युवाले हो भन्नेमा उहाँलाई विश्वस्त पाउँछु’, अलिले भने, ‘बाहिर टिप्पणी हुने र व्यवहारमा भोग्न पाइने प्रधानमन्त्री ओली कल्पना गरेभन्दा फरक हुनुहुन्छ ।’

तर हामी नेपाली सोच्दै नसोच्ने, अवसर नखोज्ने समस्याका आदि भइसकेकोप्रति सूचना प्रविधि विज्ञ अलि सन्तुष्ट छैनन् । ‘हामी पढ्ने पढ्ने र पढिसकेपछि के गर्ने भन्ने सोच्न थाल्छौँ, एक शिक्षा नै त्यस्तो भयो र अर्को हामीमा म के बन्ने हो र त्यसका लागि कस्तो शिक्षा चाहिन्छ भनेर पढ्न सुरु नगर्ने समस्या छ,’ उनी भन्छन्, ‘नेपालमा दुःख छ, अभाव छ, समस्या छ अनि त्यही कुरा जपेर किन बस्ने ? त्यसलाई कसरी हटाएर अघि बढ्न सकिन्छ भन्ने कोणबाट हामीले कहिले सोच्ने ? हो अवसर नै त्यहीँनेर छ ।’

नेपाल आमालाई ‘नागरिक एप’
आईटीको उचित प्रयोगबाट नयाँ इन्डस्ट्रिका सुरुवातकर्ता अस्गर अलि सिंहदरबारमा बसेर के गर्दै छन् त ? सामान्यतया सबैको सोचाइ हुन्छ–शक्तिको नजिक बस्ने, उनीहरुले भने, अह्राएको काम गर्ने, जागिर खाने । अलिको सवालमा यो मान्यता लागू हुँदैन । उनले त्यहाँ पनि आफ्नो सिर्जनशीलता र युगको मागलाई सम्बोधन गरिरहेका छन् ।

अलिले सिंहदरबारमा बसेर प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयको सेवा मात्रै गरिरहेका छैनन्, उनले आम नेपालीका लागि एक गतिलो उपहार निकट भविश्यमै प्रदान गर्ने योजना अन्तिम चरणमा पुर्याएका छन् । त्यो हो– नागरिक एप । यो एप के हो त ? अलि भन्छन्, ‘यो यस्तो एप हो जहाँ नेपाल सरकारले दिने सम्पूर्ण सेवा यसैबाट प्रदान गरिनेछ ।’ अब आफ्नै नामको सिम प्रयोग गर्नेले एकपटक यो एपमा नाम दर्ता गराएपछि उसले सरकारबाट लिने सेवा नागरिकता बनाउने, राहदानी बनाउने, प्यान नम्बर लिने, विदेश जाँदाको अनुमतिदेखि सरकारी अन्य सबै सेवा यसैबाट विना लाइन, विना झण्झट प्रदान हुनेछ ।’

उदाहरणका लागि कसैले राहदानी बनाउनुपर्यो भने एपमा गएर त्यहाँ नाम, उमेर टाइप गर्ने वित्तिकै चाहिने आवश्यक शैक्षिक प्रमाणपत्र, नागरिकता, एपले नै सम्बन्धित कार्यालयबाट खोजेर राहदानी बनाइदिनेछ । ‘यसले जनतालाई समय बचत मात्रै गर्ने छैन, विभिन्न अड्डा धाउने दिनको अन्त्य गर्नेछ, अनियमितता, भ्रष्टाचार रोकिनेछ’, अलिले भने, ‘नेपाल आमाका लागि एक छोराका तर्फबाट यो मेरो सानो उपहार हुनेछ ।’

(युवामञ्चबाट शिवराज योगीको लेख)