बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना

एजेन्सी । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनको निजी सचिवालयले जनाएअनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भएको पुष्टि भएको हो ।

उनकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बसेका छन ।

राजकूमार चार्ल्सलाई सामान्य लक्षणहरू देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो रहेको भनिएको छ । उनले एक्लै बसेर अरुबेला जस्तै कामहरु नियमित गर्दै आएको बताइएको छ ।

चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चाल्र्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् । चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएकाले कसबाट राजकुमारमा भाइरस स¥यो त्यो पत्ता लगाउन सम्भव नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरेको छ ।