देखेको सपना पुरा गर्ने यात्रामाः मेयर साउँद

अक्षर-आलेख

O रोहित गिरी

परिवारमा नपुग्दो केही थिएन । खान, लाउन, मन लागेको ठाउँ घुम्न होस् वा रहर लागेको वस्तु उपभोग गर्न पुगेकै थियो । पारिवारिक व्यापारका कारण उनको आर्थिक र सामाजिक अवस्था स्वाभिमानमा बाँच्न पुग्दो छ ।

भिमबहादुर साउदलाई लाग्यो, ‘म आफूलाई मात्र पुगेर भएन, मेरो सिंगो नगर अब उकासिनुपर्छ । यहाँको पछौटेपन मेटिनुपर्छ र नगरबासीको गरिबी घट्नुपर्छ ।’

अनि उनले २०४९ सालमा तत्कालिन जोगबुडा गाविसको अध्यक्ष, २०५४ सालमा जिविसको सदस्य बनेर कोरेको विकासको खाकामा फेरि रंग भर्ने मनसाय बनाए । सामाजिक सक्रियता र राजनीतिक ‘ब्याकअप’ बनेर मात्र विकास सम्भव छैन भन्ने लागेपछि उनी पदमै पुग्ने मनस्थितिमा पुगे ।

नयाँ संविधान निर्माणपछि भएको स्थानीय निर्वाचनमा उनी डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिने सोच बनाए । उनको शालिनता, मिलनसार स्वभाव, भद्रता र इमान्दारितालाई नजिकबाट नियालेका काँग्रेस सभापति शेरबहादुर देउवाले पनि उनलाई ‘अगाडि बढ्’ भने ।

निर्वाचनबाट अत्याधिक मत ल्याएर मयेरको जिम्मेवारीमा पुगेका नगर प्रमुख साउदको सपना थियो– ‘परशुराम नगरलाई धार्मिक स्मार्ट सिटी’ बनाउने । यो सपना उनले जोगबुडा गाविसको अध्यक्ष हुँदा कोरेका थिए । जिविसको सदस्य हुँदा देखेका थिए । उनले बालकालमै संगत गरेका नेता शेरबहादुर देउवाको विश्वास र साथ पाएपछि उनको हौसला झन चुलियो । निर्वाचन जितेपछि परशुराम नगरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उनको उत्कठ चाहना अहिले कार्यान्यनको चरणमा प्रवेश गरेको छ ।

‘यहाँको शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानोपानी, सिँचाइ, वनजंगल संरक्षण र नदी यिन्त्रणलगायतको काम मेरो प्राथमिकता हो’, नगर प्रमुख साउदले भने, ‘मलाई यहाँका दिदीबहिनी, दाजुभाइ, आमाबुवा, अन्य विचार र आस्थाका साथीहरुले पनि मेयरका रुपमा पत्याएपछि अहिले धेरै योजना कार्यान्वयनमा गइसकेका छन् ।’

निर्वाचित भएको छोटो समयमै योजना कार्यान्वयमा लग्न उनलाई यसकारण सहज भयो कि, उनले आफै निर्माण व्यवसायी, सामाजिक व्यक्तित्वका रुपमा अनुभव र विश्वास कमाएका छन् । नगरको प्रमुख बनेर जिम्मेवारी सम्हालेपछि साउदले अध्यक्ष हुँदै कोरेको विकासको खाकालाई मुर्त रुप दिने पहल सुरु गरेका छन् ।

सडक र पुलमा जोेड

उनले भीमदत्त राजमार्गको बुडरदेखि जोगबुडासम्मको सडक कालोपत्रे गर्ने काम सुरुवात गरिसकेका छन् । चालू आर्थिक वर्षभित्रै उनको पहलमा यो सडक पूर्ण रुपले कालोपत्रे भइसक्ने तयारिमा छ । त्यस्तै दैजीदेखि जोगबुडा जोड्ने सडक कालोपत्रेका लागि टेन्डर भएर काम अगाडि बढेको छ । चालु आर्थिक वर्षमा कालोपत्रे भइसक्ने लक्ष छ । त्यस्तै ब्रह्मदेउदेखि जोगबुडा हुँदै दार्चुला जोड्ने महाकाली करिडोर सडकको पनि यो आर्थिक वर्षभित्रै काम हुने लक्षका साथ काम अगाडि बढाइएको छ । जोगबुडा–बलेना–गोगुन–चिर्किट्टे सडक डेन्डर भई निर्माणको चरणमा छ ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर फरक आस्था, विचार र राजनीतिक दलका व्यक्तित्वसँग पनि सुमधुर सम्बन्ध भएका व्यक्तित्व भएकाले पनि उनलाई काम गर्न सहज भएको हो । उनले विकासको मेरुदण्ड मानिने सडक र पुललाई प्राथमिकता दिने क्रममा बुडर जोगबुडा सडकमा पर्ने पक्की पुलहरुको सर्भे, जोगबुडा–तातापानी–साधनी सडकमा पर्ने साधनी खोला पुल सर्वे भएको, पुन्तुराखोलामा पुन्तुरा सर्गुणा पुलका लागि पहल गरेका छन् । त्यस्तै जोगबुडादेखि करेनी–साधनी सडकमा पर्ने काफलगैह्रा पुल, जोगबुडादेखि–उर्मुले–सलेदा जाने सडकको नाउलाखोला पुल, पातलेखोला पुल निर्माणको काम पनि अगाडि बढेको छ । ‘धेरै पुलहरु बन्ने क्रममा छन्’, साउँदले भने, ‘जोगबुडा–रुपाल सडकको शीर्षखोला पुल पनि सर्भे भएर डिजाइनको काम भइरहेको छ ।’

जोगबुडा–गोगन–चिर्किटे सडक, जोगबुडा–ग्वानी–बसौटी सडक, जोगबुडा–सिमलीखेत–तातापानी–कराली सडक, साडीघाँटी–ज्याम्र्यानी–सादनी सडक, सानीघाँटी–कुर्मुले–सलेता–पल्गडी सडक, जोगबुडा–सलौन–कटाल–परिगाउँ सडक, जोगबुडा–शीर्ष–रुपाल सडकलगायतको काम भइरहेको उनले बताए । नगरबासीको आर्थिक अवस्थालाई सुधार्न सबै वडामा मोटरबाटो पुर्याउने चुनावअघिकै लक्ष र योजनाअनुरुप सडक पुग्न बाँकी रहेको वडा नम्बर २ को बसौटीमा चालू आर्थिक वर्षभित्रै सडक पुर्याउने प्रतिवद्धता जनाए ।

नदी नियन्त्रण उच्च प्राथमिकतामा

नगर प्रमुख साउद परशुराम क्षेत्रको मुहार बदल्ने खाका बोकेर हिँडेका छन् । काँग्रेस सभापति देउवाले सुरु गराएको रंगुन नदी नियन्त्रण, सादनी तातापानी नदी नियन्त्रण, शीर्ष–कलेना खोला र पुन्तुरा खोला नदी नियन्त्रण गुरुयोजनालाई मुर्त रुप दिन नदी नियन्त्रणको काममा परशुराम नगर अगाडि बढेको उनले बताए । ‘म नगरको नेतृत्वमा आएपछि गुरुयोजना बनाएरै तटबन्धनको काम अगाडि बढेको छ’, उनले भने, ‘जोगबुडा, सरगुणा, ठन्डज्वाला, सिमलखेत, परिगाउँ क्षेत्रमा योजना लागू भएको छ । नदी नियन्त्रणको गुरुयोजना केही स्थानमा सम्पन्न भएको छ, केही स्थानमा हुने चरणमा छ ।’ आफ्नो कार्यकालभित्र उनले अपर परिगाउँ सिँचाइ आयोजना, शीर्ष सिँचाइ आयोजना, पुन्तुरा, सलुन सिचाईँ आयोजनालगायतलाई मुर्त रुप दिने, अन्य सिँचाइ सम्भावना भएका क्षेत्रमा योजना बनाएर लागू गर्ने पहल थालेको सुनाए ।

धार्मिक नगरिको सपना

परशुराम नगरको समृद्धि लुकेर बसेको परशुरामधाम धार्मिक क्षेत्रलाई पर्यटकीय नगरिका रुपमा रुपान्तरण गर्ने योजनामा उनले पहल थालेका छन् । परशुराम नगरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न उनले परशुरामधाम गुरुयोजना बनाएर काम अगाडि बढाएको सुनाए । ‘परशुराम धाममा मन्दिर, धर्मशाला, स्नानघाट बनाउने र पक्की सडक बनाउने काम अगाडि बढिसकेको छ, धार्मिक क्षेत्रमा नदी नियन्त्रणको काम पनि थालिएको छ’, नगर प्रमुख साउँदले भने, ‘परशुराम धाम भगवान परशुरामले तप गरेको भूमी हो, उहाँले बरदान पाएको क्षेत्र हो । यहाँ दर्शन गरे मनोकामना पुरा हुने विश्वास छ । यो भूमीको सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा मात्रै छैन, मुलुकभरिकै मानिसहरु हरिद्वार, गंगोत्री, केदारनाथ, जमनोत्री, बद्रीनाथ, पूर्णागिरी जाने गरेका छन्, तर परशुराम धामको महत्व तीं धार्मिक भूमीभन्दा कम छैन ।’

त्यही महत्वलाई आम श्रद्धालुसम्म दर्शाउन उनको पहलमा २०७५ पुस ३० देखि माघ ८ सम्म परशुराम धार्मिक मेला र महायज्ञ सम्पन्न भएको थियो । मेला–महायज्ञमा राजधानी काठमाडौंदेखि भारतका विभिन्न धार्भिक धामबाट धार्मिक व्यक्तित्वको आगमन भएको उनले बताए ।

‘हामीले देशका विभिन्न स्थान मात्र होइन, भारतको पूर्णागिरी, हरिद्वारदेखि धार्मिक व्यक्तित्व बोलायौँ’, नगर प्रमुख साउँदले भने, ‘देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आए, यसले परशुरामको महिमा फैलाउन मद्दत पुगेको छ ।’

परशुरामसँगै रहेको सिद्धबैजनाथको मन्दिर, भागेश्वर मन्दिर, सिद्धगुफाहरुलाई धार्मिक पर्यटकीय रुटका रुपमा विकास गरेर यसलाई भारतीय शक्तिपिठहरुसँग जोड्ने दीर्घकालिन योजनामा आफू लागेको साउँदले सुनाए । ‘समैजीका मन्दिरहरु छन्, प्राकृतिक ताल छन्, २२ ओखलहरु छन्, जसमा पाण्डवहरुको गाथा जोडिएको छ’, नगर प्रमुख साउदले भने, ‘कोटहरु भएको क्षेत्र पनि परशुराम हो । यहाँ जाइकोट, पिपलकोटजस्ता ऐतिहासिक धरोहरहरु छन् । यसलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न सके समृद्धि धेरै पर छैन ।’ त्यसैले आफू परशुराम नगरलाई धार्मिक सिटी बनाउने अभियानमा जुटेको बताउँछन् ।

नगरको एप

नगरलाई आधुनिक प्रविधिसँग जोड्न र सबै तथ्यांक अपडेट गर्न उनले भदौदेखि नगरको शैक्षिक अवस्था, स्वास्थ्य, कृषि र विकास निर्माणलाई अपडेट गर्न मोबाइल एप बनाएर त्यसमा नगरको जनसंख्या, कृषि, शैक्षिक, जगा, जमिन, स्वास्थ्य आर्थिकलगायतको अवस्थालाई एकै ठाउँमा समेट्ने योजना भएको सुनाए ।

कृषिमा ध्यान

नगरका नागरिकको जीवनस्तर उकास्न आधुनिक कृषि उत्पादनलाई बढावा दिने रणनीति बनाएको उनले सुनाए । ‘नागरिकको आउजाउ र कृषि उपजलाई बजारसम्म पुर्याउन हामीले आधुनिक प्रविधि, सीप र सडकलाई प्राथमिकता दिएका छौँ’, उनले भने ।

शिक्षा, खेलकुद, स्वास्थ्यमा लगानी

खेलकुदको विकासका लागि रंगशालामा कवर्डहल निर्माण, खेल क्षेत्रका लागि बजेटको व्यवस्था गरिएको छ । यसले युवाहरुलाई खेलकुदका क्षेत्रमा अगाडि बढ्न ठूलो आधार निर्माण हुने विश्वास साउदको छ । त्रिवेणी बहुमुखी क्याम्पसलाई पूर्ण सरकारी स्वामित्वमा स्तरोन्नती, सिद्धनाथ उच्च मावि जोगबुडामा प्राविधिक शिक्षाको सुरुवात, भागेश्वर उच्च माविमा कृषि विषयको पढाईको सुरुवातदेखि विद्यालयको भौतिक पूर्वाधार निर्माण, दरबन्दी, स्तरोन्तीको कामदेखि आफ्नो पारिश्रमिकको रकममा पारिवारिक आयबाट थपेर विभिन्न विद्यालयमा करिब १८ लाखको अक्षयकोष स्थापनासम्मको काममा नगर प्रमुख साउँद लागेका छन् ।

अनमी पढ्नेहरुका लागि छात्रवृतिको व्यवस्था गरेको उनले सुनाए । स्वास्थ्यका लागि दरबन्दीदेखि भौतिक पूर्वाधार र उपकरणका क्षेत्रमा पनि आफूहरुले पहल गरिरहेको उनले जिकिर गरे । बालबालिकालाई भोलीको भविश्य भनेरै उनले बालकालिका सँग मेयर, किसानहरुसँग मेयर कृषि कार्यक्रम सञ्चालन गरेका छन् । नगर प्रमुखमा निर्वाचित भएर आएयता उनले देखेका आधाभन्दा बढी सपनाहरुका सुरुवात भएकाले कार्यकाल पुरा हुँदासम्म सम्पन्न हुनेमा उनी ढुक्क छन् ।

‘हामीले ८०, ९० विगाहा जमिन भएको क्षेत्रमा गुरुयोजना बनाएर बजार व्यवस्थापन गर्ने, सुरक्षा व्यवस्थापन गर्ने, एकै स्थानमा सरकारी भवन, शिक्षालय, प्राविधिक शिक्षाको भवन र परशुराममा रहेको सँस्कृत विद्यालयका लागि दरबन्दीको व्यवस्था समेत गर्ने लक्ष लिएका छौँ’, प्रमुख साउले योजना सुनाए ।

भारतसँग सम्बन्ध

परशुराममा नगरको परिगाउँभन्दा पारिपट्टी भारतको पूर्णगिरी मन्दिर छ । त्यहाँको महिमा र धार्मिक पर्यटकको आगमन निकै चर्चित छ । त्यस्तै महत्व बोकेको धाम परशुराम हो । उनी पूर्णागिरी मन्दिरसँग यसलाई जोड्न चाहन्छन् । त्यहाँ आउने धार्मिक पर्यटकलाई परशुरामसँग जोड्ने योजनामा छन् । ‘परशुराम धाम पवित्र, पौराणिक स्थल हो भन्ने कुरा स्कन्द पुराणमै उल्लेख छ’, उनले भने, ‘मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास छ । यस्तो धामलाई हामीले भारतीय धार्मिक पीठसँग जोड्न सक्यौँ भने त्यसको लाभ सिंगो सुदूरपश्चिमले पाउने छ ।’ परशुराम धाम विशेष गरेर माघेसंक्रान्तिमा डडेल्धुराका घटाल, भागेश्वर, असिग्रामलगायत २२ वटा आस्थाका देवताले स्थान गर्ने धाम भएको उनले बताए ।

भारतको पूर्णागिरी र परशुरामलाई जोड्न भने भौगोलिक समस्या भएको उनी बताउँछन् । ‘परिगाउँ र पूर्णागिरीको बीचमा महाकाली नदी छ’, उनले भने, ‘यसमा पक्की पुल वा झोलुङ्गे पुलको आवस्यकता छ । दुई देशबीचको सवाल भएकाले त्यसका लागि स्थानीय पहलले हुँदैन । हामीले यसकालागि प्रदेश र संघीय सरकारसँग पहलका लागि सक्रियता बढाएका छौँ ।’

यो क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न सक्यो र भारतको पूर्णागिरीदेखि, कञ्चनपुरको ब्रह्मदेउ, शुक्लाफाँटाहुँदै डडेल्धुराको घटाल, गन्यापधुरा, नवदुर्गा, अजयमेरुकोट, अमरगडी किल्ला, उग्रतारा, डोटीको शैलेश्वरीलगायतलाई धार्मिक रुटका रुपमा विकास गर्न सके सुदूरपश्चिम क्षेत्रकै सम्भावना उज्वल भएको नगर प्रमुख साउँद देख्छन् ।

पारिश्रमिक रकम सेवामा

परशुराम नगरको प्रमुखका रुपमा निर्वाचित भएपछि आजसम्म पारिश्रमिक, पेट्रोल, स्वकीय सचिवलगायतको सरकारी सेवासुविधा नलिएर जनताको काममा सक्रिए साउँद भन्छन्, ‘मैले निजी आर्थिक सहायता कोष स्थापना गरेको छु । त्यसमा घरायसी आर्जनबाट हुने केही रकम थपेर विभिन्न सामाजिक काममा खर्चने गरेको छु ।’

साउँदले उक्त कोषबाट विभिन्न विद्यालयमा अक्षय कोष निर्माण गर्ने, असहाय, अशक्तको औषधिउपचारमा सघाउने, जेहेन्दार विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउनेदेखि दैवीय विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने काममा खर्चँदै आएको सुनाए । सबैलाई समेटेर जनताको सेवामा समर्पित साउँद भन्छन्, ‘मलाई सम्पूर्ण दाजुभाइ, दिदीबहिनी र सबै पक्षको सहयोग छ, यो साथले म मेरो कार्यकालभरि देखेको सपना पुरा गर्ने विश्वासमा छु ।’