निर्माण व्यवसायीकै कारण निर्माणाधीन एक सय ८४ पुल अलपत्र

काठमाडौं । देशभरमा निर्माणाधिन मध्ये एक सय ८४ पुल समस्याग्रस्त अवस्थामा छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी देखिएको बताइएको छ । निर्माण व्यवसायीकै कारण कतिपय पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ भएको सडक विभागले जनाएको छ । कतिपय निर्माण व्यवसायीले पुल निर्माणको ठेका लिएर पेस्की रकमसमेत लिएर पनि निर्माणको प्रक्रिया नै सुरु नगरेको विभागले जनाएको छ ।

स्थानीय सडकमा एक सय २८, रणनीतिक सडकमा ४३ पुलमा समस्या देखिएको विभागले जनाएको छ । कहिलेकाहीँ प्रक्रियागत तथा मौसमलगायतका कारण निर्माणमा ढिलाइ हुने गरेको सडक विभाग, पुल महाशाखाले जनाएको छ ।

निर्माणाधीन पुलमध्ये ९६ पुल निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कतिपय ठेकेदारलाई कारवाहीको प्रक्रिया शुरु भइसकेको र कतिलाई कारबाही प्रक्रिया सुरु गर्ने तयारी थालिएको महाशाखाले जनाएको छ । निर्माण व्यवसायीको गलत मनसायका कारण ढिलाइ भएमा कारबाही गर्ने र अन्य कारणले समस्या भएको पाइएमा अवधि थप गर्ने गरिएको महाशाखाको भनाइ छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका सडक आयोजनाअन्तर्गतका पुलमा पनि समस्या देखिएको छ । हुलाकी राजमार्गमा नौ पुलमा समस्या देखिएको छ । ६० सडक पुल निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गमा अहिले १५ पुल निर्माणका क्रममा छन् । ती मध्ये चारवटा पुल निर्माण व्यवसायिका कारण अघि बढ्न सकिरहेक छैनन् ।

रणनीतिक सडकमा १४० तथा स्थानीय सडकमा ५०० पुलको निर्माण अघि बढेको छ । स्थानीय पुल ६४ र रणनीतिक पुल तीन वटाको डिजाइन सम्पन्न भइसकेको जनाइएको छ । व्यवसायीहरुले देशभर निर्माणको ठेका लिने, केही रकम पनि हत्याउने र निर्माणको काममा ध्यान नदिने भएकाले पनि समस्या देखिएको बताइएको छ ।