शालिनता र उछृङ्खलता नृत्याङ्गनाको प्रस्तुतिले छुट्याउँछः बिनु शाक्य

नेपाली कला क्षेत्रमा नयाँ नयाँ अनुहार मात्रै झुल्किने क्रम जारी छैन । तीँ अनुहारसँगै नयाँ शैली, कला, उर्जा र आकर्षण पनि भित्रिने क्रम सुरु भएको छ । नेपाली नृत्य कला धेरै पुरानो हो तर यसको आयाम, आयतन र आकर्षणलाई फराकिलो बनाउने क्रम भने चलिरहेको छ । नेपाली नृत्यको क्षेत्रलाई थप फराकिलो र लोभलाग्दो बनाउन कस्सिएकी पात्र हुन् बेली डान्सर  बिनु शाक्य । उसो त उनी कत्थक र अन्य नृत्यमा रुची राख्नुका साथै अभिनयमा पनि उत्तिकै सक्रिय छिन् । बिनुसँग अक्षरपाटीका लागि  रोहित गिरीले गरेको  संवाद :-

आफूलाई को भनेर चिनाउन मन पर्छ ?
पहिला त म आम साधारण साधारण नेपाली चेली हुँ । त्यसपछि पेसागत रुपमा म बेली डान्सर हुँ, म नृत्यलाई माया गर्ने मान्छे भनेर चिनाउन चाहन्छु ।

आफ्नो जन्मका बारेमा भनिदिनुहुन्छ ?
सिन्धुपाल्चोकको लामोसाँघु मेरो जन्मस्थान हो । मेरो ममी लक्ष्मी शाक्य र बुवा इन्द्रकाजी शाक्य हुनुहुन्छ । परिवारकी म कान्छी छोरी हुँ । मभन्दा माथि दुई दिदी र मेरो पछि एक भाइ छन् ।

अंग्रेजी साहित्य र पत्रकारितामा दोहोरो डिग्री हासिल गर्नुभयो, तमाम अवसरमध्ये कला क्षेत्र नै रोज्नुको कारण छ कि ?

मैले ६ वर्षको उमेरदेखि नै नृत्य सुरु गरेँ । त्यतिबेला डान्स के हो भन्ने नै थाहा थिएन । मलाई दिदीहरु सुविना र नविना शाक्यले नृत्य सिकाउनुभएको हो । पछि काठामाडौँ आएँ । काठमाडौमा जागिर सुरु गरेँ । जागिर गर्ने क्रममा मलाई थाहा भयो, मेरा लागि डान्स निकै महत्वपूर्ण छ भन्ने । जागिर गरे पनि मेरो मन डान्समै एकोहोरियो । जागिर सोचेभन्दा राम्रो थियो तर मेरो रुची डान्सतिर भयो । यसरी दुई तीन वर्ष डान्सबाट अलग्गिनुपर्दा निकै गाह्रो महसुस भयो । जागिरको वाध्यताले अलग्गिएपनि मलाई डान्स गर्ने हुटहुटीले झन पिरोल्न थाल्यो । त्यसपछि मैले जागिर नै छोडिदिएँ । अहिले म आफूलाई डान्समा केन्द्रित गरिरहेकी छु ।

नृत्यलाई नै जीवनको प्रमुख लक्ष बनाउनु भएको हो ?
अब त्यही नै हो भन्नुपर्छ । किनकि सोचेजस्तो र भनेजस्तो जागिरसमेत छोडेर यो क्षेत्रमा सक्रिय छु । तर यही क्षेत्रसँग सम्बन्धित अन्य पनि पक्ष र पाटाहरु छन्, जस्तो रंगमञ्च होला, अभिनय क्षेत्र छ, मिडिया क्षेत्र छ, म आफूलाई त्यता पनि विस्तारै सक्रिय बनाउँदै गएकी छु ।

नेपाली कलाकारितामा मात्रै सक्रिय भएर जीवन धान्न सम्भव छ जस्तो लाग्छ ? अर्थात यसको स्कोप कस्तो देख्नुभएको छ ?
पहिलाभन्दा नेपाली कलाकारिताको स्कोप राम्रो छ । यो क्षेत्रलाई दर्शकले हेर्ने नजरमा पनि सकारात्मक परिवर्तन आउँदै गएको छ । तर आजै कलाकारिता मात्रै गरेर जीवन धान्न गाह्रो छ । त्यही भएर अर्को विकल्प पनि खोजी गर्दैछु । तर त्यो विकल्प यस्तो हुनुपर्छ कि जसले कलाकारितालाई अवरोध होइन, सपोट गरोस ।

कलाकारितामा अप्ठ्याराहरु के के हुन् ? यहाँले सामना गर्नुपरेका कुनै गाह्रा क्षणहरु छन् ?
एउटा कुसल कलाकार बन्न उसमा निपुणता हुने कोसिस जरुरी छ । कलाकार कहिल्यै पूर्ण हँदैन । पूर्णता हुने कोसिस नै कलाकारिताको असली धर्म हो जस्तो लाग्छ । यसका लागि चाहिने भनेको साधना, इमान्दारिता, लगानशीलता र धैर्यता हो । धैर्यता हरेक क्षेत्रमा सफताको सुत्र नै हो । आज भएन भनेर आत्तिने हो भने कुनै पनि क्षेत्रमा मान्छे सफल हुँदैन ।
अब, कलाकारिता क्षेत्रमा व्यवहारिक अप्ठेराहरुको कुरा गर्ने हो भने अझै पनि हाम्रोमा व्यवसायिकता कायम हुन सकेको छैन जस्तो लाग्छ । त्यसमा हामी कलाकार आफै पनि दोषी छौँ कि भन्ने हो । एउटा कलाकारले अर्को कलाकारलाई सम्मानको नजरले हेर्ने सँस्कारको विकास अझै हुन सकेको छैन । अर्को, जसको हातमा अवसर छ उसले त फाइदा सोच्ने नै भयो । निहित र क्षणिक स्वार्थका लागि हामी त्यसमा फस्नु हुँदैन भन्ने मेरो मान्यता हो । नेपाली परिवेशमा अझै पनि कलाकारमा निहित कलाभन्दा उसको बाहिरी आवरण वा आकर्षणलाई प्राथमिकता दिने चलन कम भएको छैन । अवसर दिने निहुमा भद्दा प्रस्ताब राखिने गर्छन । यही कारणले यो क्षेत्र अझै पनि निर्भय र निस्वार्थ हुन सकेको छैन भन्ने लाग्छ ।

आजसम्मको यात्रामा कति प्रस्तुति र कति अभिनय गर्नुभयो ?
करिब ३०, ३५ जिल्लामा आयोजना भएका साँस्कृति कार्यक्रम, महोत्सव, नयाँ वर्ष, क्रिसमस कार्यक्रमहरुमा प्रस्तुति दिइसकेकी छु । यो क्रममा आजसम्म मैले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छु । प्रमोद खरेलको आवाजमा रहेको नाकैको टुम्पोमा भन्ने म्युजिक भिडियो निकै चर्चित भयो ।

यहाँको विशेष रुचीको क्षेत्र बेली डान्स, यो नृत्य गर्दा गाह्रो अप्ठेरो वा सजिलो रमाइलो कस्तो हुन्छ ?
म गर्न त सबै खालको डान्स गर्छु । तर दर्शकले रुचाएको भनेको बेली डान्स हो । आयोजकले पनि मबाट बेली डान्सकै अपेक्षा गर्नुहुन्छ । नेपालको लागि यो नयाँ फर्म हो । बेली डान्स गर्न गाह्रो त, गाह्रो छ । कतिपयले यसमा कला छैन यो भल्गर (उत्तेजक) छ पनि भन्ने गर्छन । तर मान्छेले कसरी प्रस्तुत गर्छ भन्ने कुराले महत्व राख्छ जस्तो लाग्छ । डान्सरले के कुरालाई फोकस गर्यो भन्ने कुराले यसको शालिनता र उछृङ्खलताको भिन्नता छुट्याउन सकिन्छ भन्ने मेरो बुझाइ हो ।

नृत्य सकेर जब स्टेजबाट झर्नुहुन्छ, अनि कस्तो कस्तो प्रतिक्रियाको सामना गर्नुभएको छ ?
सबैले सकारात्मक प्रतिक्रिया दिन्छन् । कहाँ सिक्नुभयो । कसरी यति सुन्दर र आकर्षण डान्स गर्नुहुन्छ ? भनेर उत्सुकता व्यक्त गर्छन । यो सबै सुन्दा औधि शुसी लाग्छ । अझ राम्रो गर्नुपर्छ भन्ने उत्प्रेरणा मिल्छ ।

जीवन, प्रेम र सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सबैभन्दा गाह्रो लाग्ने प्रश्न नै यही हो । तैपनि भन्नुपर्दा, जीवन निरन्तर यात्रा हो, जहाँ सुगम र दुर्गम बाटोहरु छन्, यो हिँड्नैपर्छ । प्रेम मिठो अनुभूति हो । यो जोसँग पनि हुनसक्छ । आमा, बुवा, भाइबहिनी वा प्रेमी पे्रमिका जोसुकैसँग ।
सेक्स प्रकृतिको निरन्तरता हो । सायद यो दुई आत्माको मिलन हो । अनुपम पल हो ।

नेपाली कलाकारितामा सुधार्नुपर्ने पक्ष के छन् जस्तो लाग्छ ?
कलाकारितामा कला, क्षमता र योग्यतालाई प्राथमिकता दिनुपर्छ । अर्को, आज हाम्रोमा प्रविधिहरु त नयाँ नयाँ भित्रिएका छन् तर सोच र शैली अझै पूर्ण रुपमा बद्लिन सकेको छैन जस्तो लाग्छ । यो क्षेत्र पनि पूर्ण व्यवसायिक हुन जरुरी छ ।