रोकियो लामो दूरीको सवारी आवागमन

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको घोषणा गरेअनुसार आजदेखि लामो दूरीका सवारीसाधन आवागमन बन्द गर्ने निर्णय कार्यान्वयन गरिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको हो ।

सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो ।

महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए ।

पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन भने फाट्टफुट्ट सञ्चालन भइरहेको बताइएको छ ।