भातृ संस्थाको मापदण्ड निर्माणको जिम्मा साउदलाई

काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुकोे म्याद ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कार्यकाल सकिएका भ्रातृ संस्थाहरुको म्याद थप्ने निर्णय गरेको हो । यद्यपि माघ अन्तिममा अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेतृत्वविहीन भएको नेपाल विद्यार्थी संघका विषयमा भने काँग्रेस केन्द्रीय कार्यसमितिले स्पस्ट बोलेको छैन । पार्टीको दोस्रो चरणण्को जागरण अभियान भदौ २४ गतेबाट सुरु हुनु अगावै नेविसंघको तदर्थ समिति गठन भइसक्ने अनुमान गरिए पनि पार्टीले भने कुनै निर्णय गरेको छैन ।

म्याद थपिएको अवधिसम्म म्याद सकिएका भ्रातृ संस्थाहरुका वर्तमान कार्यसमितिहरु अधिवेशन तयारी समितिका रुपमा रहने र उनीहरुले थपिएको समयावधिभित्रै अधिवेशन गरिसक्नु पर्ने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गर्दै मापदण्ड निर्माणका लागि केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

कार्यकाल समाप्त हुने भ्रातृ संस्थामा नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाज रहेका छन् । यसअघि विधानभन्दा पर गएर थप तीन महिना म्याद थप्दा पनि अभिवेशन गर्न नसकेपछि नेपाल विद्यार्थी संघका निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिनुपरेको थियो । महरको बहिर्गमनपछि पार्टीले तदर्थ समिति दिन सकेको छैन ।

नेविसंघको विधानमा १२ औँ महाधिवेशनपछि लागू हुने गरि ३२ वर्ष उमेरहद कायम गरे पनि उक्त नियम तदर्थ समितिकै हकमा लागू हुनुपर्ने एकथरी नेताको अडान छ । अर्कोथरीले भने उक्त विधानको कार्यान्वयन १२ औँ महाधिवेशनपछि हुने भएकाले हाललाई तदर्थ समितिमा महाधिवेशन सम्पन्न गर्नसक्ने ३२ वर्ष उमेर माथिको नेतृत्व ल्याउनुपर्ने अडान लिएका छन् ।

काँग्रेसका केही प्रभावशाली नेताले आफू निकटको नेतृत्व चाहेकाले पनि नेविसंघ साढे ६ महिनादेखि नेतृत्वविहीन बनाइएको चर्चा छ । यतिबेला नेविसंघको नेतृत्वका लागि राजीव ढुंगाना, पुष्पकुमार शाही, सरोज कुमार थापा, ऋषिकेषजंग शाह, अम्बिका चलाउने, प्रेम जोशी, दिपक भट्टराई, लीलावल्लभ दाहाललगायत आकांक्षीका रुपमा दौडधुपमा छन् । पार्टीले दोस्रो चरणको जागरण अभियान थाल्नु अघि नै नेविसंघलाई नेतृत्व दिने तयारी गरेको बुझिएको छ ।