काँग्रेसको जागरण अभियानः युवाले गरे गुनासो

धनगढी । आइतबार धनगढी उप–महानगरपालिका ४ मा नेपाली कांग्रेसले आयोजना गरेको जागरणसभामा विद्यार्थी नेता मनिस कुँवरले काँग्रेसले यूवालक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । चुनावको बेला परिचालन गर्ने तर अरु बेला वास्तै नगर्ने भन्दै मञ्चमा बसेका काँग्रेस नेतृत्वप्रति आक्रोस पोखे ।

प्रतिउत्तरमा धनगढी उप–महानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस धनगढीका नगर सभापति नृपबहादुर वडले जागरण अभियान अन्तरगत नै युवासंग बसेर उनीहरुका समस्याका बारेमा छलफल गर्ने छुट्टै कार्यक्रम रहेको बताए ।

धनगढी उप–महानगरपालिका १३ मा आयोजित जागरणसभामा स्थानीय नेता छत्रराज जोशीले केन्द्रबाट गुट, उपगुटको अन्त्य गरेर आउन नेताहरुलाई सुझाव दिए । गाउँसम्मै गुटमा कार्यकर्तालाई बिभाजन गर्ने काम ठूला नेताहरुले नै गरेको आक्रोस जोशीले पोखे । कम्यूनिष्टहरुको एकता भएको अबस्था र कांग्रेसीहरुको अन्तरघातले देशभरी कांग्रेसले पराजय भोगेको जोशीको आरोप थियो ।

प्रतिउत्तर राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधी मेखराज खड्काले भने, ‘गुटउपगुटमा कांग्रेस बिभाजन हुनुहुदैन र छैन भन्ने कुराको सन्देश दिनका लागि कांग्रेस केन्द्रिय समितिले दोश्रो राष्ट्रिय जागरण चलाएको हो । अहिले पनि हामी एक हुन जानेनौ भने पार्टी लामो समयसम्म पछाडी पर्न सक्छ ।’ उनले गल्ती नगर्न पार्टी नेतृत्वलाई आग्रह पनि गरे ।

जगरणसभाहरुमा कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरु बीच स्थानीय, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा ब्यहोरेको पराजयका बिषयमा छलफल तथा समिक्षा भैरहेको छ । पार्टीभित्रको अब्यबस्थीत सञ्चार प्रणालीलाई ब्यबस्थीत बनाउनुपर्ने, युवा, दलित, महिला, जनजाती, थारु, पछाडी परेका क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने, पार्टीका भातृ तथ भगिनी संगठनलाई चुस्त बनाउनुपर्ने र सरकारले गरेका गलत निर्णय, अनियमिता जस्ता कुराको भण्डाफोर गर्नुपर्ने सुझाव युवाहरुले दिइरहेको कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु”ले बताए ।