नेकपालाई सभामुख छान्न गाह्रो भएको हो भने हामी तयार छौँ : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने बताएका छन् । विराटनगर पुगेका देउवाले नेकपालाई सभामुख छान्न धौ धौ परेको भए आफूहरु तयार रहेको बताए ।

‘नेकपालाई सभामुखका लागि सहमति जुटाउन गाह्रो भएको हो भने हामी दिन तयार छौँ,’ उनले भने, ‘नेकपाभित्रको विवादले सभामुख चयन प्रक्रिया रोकिएको छ, उहाँहरुलाई मिलाउन गाह्रो भएको हो भने हामी चलाइदिन्छौ ।’ उनले चाँडै सभामुखको उम्मेदवार चयन गरेर संसद सञ्चालनको वातावरण बनाउन पनि आग्रह गरे ।

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे । देउवाले असन्तुष्ट पक्ष पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सहमत भइसकेको दावी गरे ।