प्रचण्डको अभिव्यक्ती अराजनीतिक र आपत्तिजनक, जिम्मेवार हुन काँग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले तत्कालीन बिद्रोही तथा हालको सत्तारुढदल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति अराजनीतिक र आपत्तिजनक भएको बताएको छ ।

लोकतान्त्रिक पद्धतीमा प्रवेश गरेर सत्तारुढ दल बनेको अवस्थामा जनयुद्ध दिवस मनाउँदै दाहालले आज एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक र अराजनीतिक भएको काँग्रेसले ठोकुवा गरेको छ । कांग्रेसका तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाले जंगलबाट खुला राजनीतिमा ल्याएर काठमाडौंमा स्थापित गरेका हालको नेकपाका अध्यक्ष ‘प्रचण्ड’ले आज आएर गिरिजाबाबुलाई नै बदनाम गर्ने भ्रामक अभिव्यक्ति दिएपछि कांग्रेस आक्रोशित भएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै स्व गिरिजाबाबुबारे प्रचण्डले दिएको विवादास्पद र भ्रामक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गर्ने स्व कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि उल्लेख छ, ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साञ्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदा नै दाहालले सार्वजनिक गर्नुहुन्थ्यो । उहाँको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् छ ।’

जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव स्मरण गराउँदै काँग्रेसले विज्ञप्तिमा भनेको छ, ‘जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँछौँ ।’