श्रमिक, मजदुर र न्यून आए भएकालाई विशेष राहत घोषणा गर्न काँग्रेस सभापति देउवाको सुझाव

काठमाडौं । काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन लकडाउन उत्तम विकल्प भए पनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारलाई सुझाव दिएका छन ।

उनले दैनिक ज्यालादारीमा निर्भर, न्यून आय भएका र रोजागारी गरेर खाने व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग बिहीबार अनुरोध गरेका हुन ।

लकडाउनको अवस्थामा श्रमिक, ज्यालादारी गर्ने, निजी संस्था र कम्पनीमा काम गर्नेहरु बेरोजगार अवस्थामा बस्न वाध्य हुनुपरेको र उनीहरुसँग दैनिक गुजारा गर्ने अवस्था नभएकाले उनीहरुका लागि दैनिक गुजारा चलाउने प्रबन्ध मिलाउन सभापति देउवाले आग्रह गरेका हुन । देउवाले कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही नागरिक भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गरेका छन ।

उनले महामारीमा राज्यले लागू गरेका नियम पालना गर्नु नागरिकको कर्तव्य हुने र नागरिकको गास, बास कपासको व्यवस्था गर्नु राज्यको अभिभावकत्व र जिम्मेवारीमा पर्ने पनि उल्लेख गरेका छन । यतिबेला देशभर दैनिक काम गरेर खाने वर्ग साँझ विहानको हात मुख जोर्ने समस्यामा पर्दै गएको छ ।

त्यो सँगै सिमित स्रोत साधन भएका निजी कम्पनीमा काम गर्ने कामदार, श्रमिक र जागिरेहरु पनि बेतलबी बिदा लिनुपर्ने वाध्यतामा पुगेका छन । यस्तो अवस्थामा नागरिकले कम्तिमा भोकै मर्नुपर्ने अवस्था नआउन दिन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने देउवाले सुझाव दिएका हुन ।