सरकार र राउतबीचको सहमति पछि कांग्रेसले के भन्याे

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउत र सरकारबीच भएको सहमतिका केही बुँदामा प्रश्न उठाएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको ब्याख्याको विवाद तत्काल हल गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘जनमत संग्रह होइन भने सरकारले होइन भन्नुपर्‍यो, हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्‍यो । देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा, कस्तो छनौटमा,कसरी,कहिले र किन ?’

शुक्रबार सरकारले स्वतन्त्र मधेशका अभियन्ता राउतसँग सहमति गरेलगत्तै उनले सामाजिक सञ्जालमा यससँग सम्बन्धित तीन ट्वीट गरेका छन् ।  पहिलो ट्वीटमा उनले सरकारले राउतसँग गरेको सम्झौताको स्वागत गरेका छन् । उनले भनेका छन्, ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत। नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज । अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई सबैको र समृद्ध बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य ।’

त्यसपछि उनले एक घण्टाको फरकमा पुनः दुईवटा ट्वीट गरेका छन् । जसमा सरकारले राउतसँग गरेका सहमतिका बुँदालाई प्रष्ट पार्न भनिएको छ। प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै सम्झौतामा उल्लेखित दुई र चार नम्बर बुँदाको मूर्त ब्याख्या गर्न आग्रह गरेका छन् ।