प्रेसमाथि अंकुश लगाउन खोज्नु दुर्भाग्यः देउवा

धनगढी । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले वर्तमान सरकार निरंकुश बन्दै गएको बताए । उनले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोज्नु दुर्भाग्य भएको भन्दै यसले लोकतन्त्र नै धरापमा पर्ने चेतावनी दिए ।

उनले कम्युनिस्ट सरकार स्वतन्त्र प्रेसमाथि निरंकुश बन्दै गएको बताउँदै भने, ‘प्रेसमाथि पनि विभिन्न बहानामा प्रतिबन्ध लगाएर यो सरकार निरंकुश बन्दै गएको छ । काँग्रेस रमिते बनेर बस्दैन ।’

शनिबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै देउवाले सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न खोजेको बताए । ‘कांग्रेसले प्रतिरोध गर्छ’, उनले भने। ‘ुकांग्रेसले जागरण अभियानमार्फत आफ्ना कुरा जनतासामु राख्नेछ ।’

पूर्वप्रधानमन्त्री देउवाले संसदमा सभामुखको भूमिका पनि स्पस्ट नभएकोप्रति दुखेसो गरे । देउवाले शनिवार नै धनगढीमामा महेश रामायण सभाको हिरक महोत्सबको समापन कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस क्रममा उनले सुदूरपश्चिमको बिकासमा आफू सँधै लागिरहने बताए।

उनले आफ्नै पहलमा सुदूरपश्चिमलाई काठमाडौं जोडेको बताए । ‘कर्णालीमा पुल बन्यो, राजमार्गमा दर्जनौ पुलहरु बनेका छन् , पहाडमा बाटा घाटाहरु खुलेका छन्’, देउवाले भने, ‘यस क्षेत्रको बिकासमा सबै मिलेर लाग्नुपर्छ ।’