सकियो काँग्रेसको जागरण अभियान, मेटिएन गुनासो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको एकमहिने राष्ट्रिय जागरण अभियान सकिएको छ । तर, पार्टीभित्रको असन्तुष्टि र नेताहरूबीचको विमति उस्तै छ । आन्तरिक संगठन सृदृढीकरण र सरकारविरुद्ध भण्डाफोर गर्ने भन्दै थालेको पहिलो चरणको अभियान शनिबार समापन भएको हो ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा कमजोर बनेपछि कांग्रेसले संगठन सुदृढीकरणको योजना ल्याएको थियो । त्यसैअन्तर्गत उसले नेता, कार्यकर्ता र नागरिक तहमा पार्टीप्रति विश्वास पैदा गर्ने भन्दै देशदेखि विदेशसम्म अभियान लगेको थियो । तर, कार्यक्रमले अपेक्षित सफलता पाउन नसकेको नेताहरूले नै टिप्पणी गरेका छन् ।

‘पार्टीको आदेशमा साथीहरू जिल्ला जानुभएको छ,’ युवा नेता गगन थापाले भने, ‘तर सन्तुष्टि छैन, साथीहरूले असन्तोषबीच काम गर्नुभएको छ । भ्रातृसंस्थाहरूको अधिवेशन नहुँदा सबैतिर अन्योल छ ।’ प्रवक्ता विश्वप्रकाश शर्माले भने जागरण अभियानले कांग्रेसले गति लिएको दाबी गरे , ‘चुनावको परिणामपछि ग्यारेजमा थन्किएको गाडीजस्तो कांग्रेस जागरणपछि ‘स्टार्ट’ भएको छ । दोस्रोे चरणमा यो गाडी हाइवेमा आउँछ, तेस्रो चरणमा गन्तव्यका लागि गति लिन्छ ।’

अभियानमा कांग्रेसले केन्द्रीय सदस्य र केन्द्रीय नेतालाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएको थियो । यसमा संगठनको अवस्था बुझ्ने, कांग्रेसको प्रयासमा भएका राजनीतिक उपलब्धि बुझाउने, गर्नुपर्ने कामको विषयमा कार्यकर्ता र नागरिकको सुझाब लिने भनिएको थियो । २५ वैशाखदेखि कार्यक्रम सुरु गरी स्थानीय तहसम्मै जागृत गराउन पुगेका केन्द्रीय प्रतिनिधिलाई कार्यकर्ताले पहिले आफैँ जागृत हुन नेतृत्वलाई उल्टै आग्रह गरेका छन् ।

जागरण अभियानमा पनि गुटगत प्रभाव
केन्द्रीय प्रतिनिधि खटाउँदा सबै गुटलाई सन्तुलन मिलाएरै पठाइएको थियो । तर, गुटगत आधारमै नेताहरूले अनुभव बाँड्ने र प्रतिक्रिया दिने गरेका छन् । पार्टी सभापतिनिकट नेताहरूले जागरण अभियानले नेता, कार्यकर्ता र जनतामा विश्वास पैदा गरेको भन्दै बचाउ गरे भने नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने कार्यक्रमको स्वरूपमै असन्तुष्ट देखिए । आफूलाई खटाएको जिल्लामा पुगेर अभियानमा सक्रिय भए पनि अभियानका समयको सान्दर्भिकता सही नभएको भन्दै उनीहरूले नेतृत्वको आलोचना गरे ।

पार्टीले संघीय संरचनायुक्त विधान बनाए पनि प्रदेश समिति, प्रदेश निर्वाचन क्षेत्रीय समिति, बुथ समिति, गाउँपालिका र नगरपालिकाका संरचना नबनाएको, २४० बाट निर्वाचन क्षेत्रीय समिति १६५ मा झार्न नसकेको भन्दै आलोचना भएको छ । कार्यकर्तालाई जागृत गराउन पुगेका नेताहरूले गाउँ–गाउँमा पहिले आफैँ जागृत बन्न, गुटभन्दा माथि उठ्न, संगठनलाई व्यवस्थित बनाउन सुझाब पाएका छन् । नेताहरूलाई कार्यकर्ताले हामी शेरबहादुर, रामचन्द्र, शशांक वा सिटौला कसको कांग्रेस हुने भनेर उल्टै प्रश्नको सामना गर्नुपरेको छ । कांग्रेसमा गुटगत राजनीति संस्थागत रूपमा कसरी झाँगिएको छ भन्ने प्रमाण हो यो । केही दिनअघि काठमाडौंमा सभापति शेरबहादुर देउवा स्वयं उपस्थित कार्यक्रममा कार्यकर्ताले खुलेरै हामी कुन नेताको कांग्रेस हुने भन्दै प्रश्न उठाएका थिए ।

मुद्दा उठानमै कमजोरी 
अभियानमा धादिङका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका प्रदीप पौडेलले निर्वाचनपछि एउटा कांग्रसले अर्कोलाई चिन्ने मौका पाए पनि कांग्रेस धेरै ठाउँमा चुकेको बताए । ‘आन्तरिक संगठनभित्र छलफलको बाटो बन्यो । कार्यालयहरू वडा तहमा खुले, नियमित बैठक हुने र कांग्रेस जुर्मुराए भन्ने यो अभियानको सकारात्मक पाटो हो,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले प्रतिपक्षी भूमिकामा खरो उत्रिनका लागि जनभागिता बढाउने गरी कार्यक्रम गर्न सकेनौँ ।’

प्रदेशदेखि वडासम्म पार्टीका संरचना बनाएर अघि नबढ्दा कांग्रेस ठूलो अवसरबाट चुकेको उनको टिप्पणी छ । ‘राम्रो परिणाम दिन र यथेष्ट काम गर्ने मुद्दा उठाउन हामीसँग समय थियो, तर अझै आवश्यकता बोध गरिएन,’ पौडेलले भने, ‘प्रतिपक्षी भूमिकाका लागि सरकारले नै धेरै मसला दिए पनि हामीले यसमा जनताको सहभागिता गराउन सकेनौँ ।’ वाइडबडी, बालुवाटारको जग्गा प्रकरणसहितका मुद्दामा कांग्रेस खरो रूपमा उत्रिन नसकेको गुनासो कांग्रेसमा धेरै छ ।

व्यवस्थित ढंगले जनतालाई जोड्न र आकर्षित गर्न नेतृत्व चुकेको उनको भनाइ छ । भ्रष्टाचारको मुद्दामा जनताले चाहे जसरी प्राथमिकतामा नराखेको, निर्वाचनमा विधिवत् टिकट नबाँडिएको, हँसिया–हथौडामा भोट हाल्न लगाएको, अरूलाई जिताएको, तर आफूहरू जित्ने गरी तालमेल नगरिएको भन्दै मुख्य नेतृत्वविरुद्ध प्रश्नैप्रश्न उठेको पौडेल बताउँछन् । अब १४औँ महाधिवेशन सुरु गर्ने हो कि ? संक्रमणकालीन व्यवस्थामा टेकेर संरचनालाई पूर्णता दिने हो, यसमा प्रस्ट भएर मात्रै दोस्रो र तेस्रो चरणको अभियानमा लाग्नुपर्ने म्यान्डेट आफूहरूले पाएको उनी बताउँछन् ।

देउवालाई कार्यकाल बढाउन खोजेको आरोप  
नियमित समयमा हुने हो भने आउँदो फागुनसम्म कांग्रेसमा १४औँ महाधिवेशन भइसक्नुपर्नेछ । तत्काल काम सुरु नहुने हो भने समयमा महाधिवेशन गर्न सम्भव छैन । पार्टी विधानले विशेष अवस्थामा मात्र एक वर्ष थप्न पाउने अधिकार सभापतिलाई दिएको छ । तर, पदावधि बढाउनकै लागि देउवाले समयमा अधिवेशनलाई छल्न लागेको आरोप अर्को पक्षको छ । देउवाले आवश्यक सल्लाह नै नगरी आफ्नो कार्यकाल लम्ब्याउन मात्रै अभियान थालेको आरोप उनीहरूको छ । पूर्वसंस्थापनका नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइराला, गगन थापा, प्रदीप पौडेलसहितका नेताहरू कार्यक्रम सही समयमा नभएको बताउँदै आएका छन् ।

जागरण अभियानबारे के भन्छन् नेता ?

प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्– 

कांग्रेसको गाडी स्टार्ट भयो, अर्को चरणमा गति लिन्छ

चुनावको परिणामपछि कांग्रेस जागरण अभियानको पहिलो चरणले ग्यारेजमा थन्किएको जस्तो लागेको कांग्रेसको गाडी स्टार्ट भएको छ । दोस्रोे चरणमा गाडी हाइवेमा आउँछ । तेस्रो चरणमा गन्तव्यका लागि गति लिन्छ । पार्टीको महासमिति बैठकले निर्णय गरेर सुरु गरिएको कार्यक्रम हो । सभापति शेरबहादुर देउवा एउटा लागेर सुरु भएको होइन । यो कसैलाई छल्ने गरी ल्याइएको कार्यक्रम होइन । केही कार्यक्रम नहुँदा महाधिवेशनसम्म के गरेर बस्ने ? महाधिवेशनमा मृत भएर जाने वा जागृत भएर जाने ? केही भएन भन्ने साथीहरूलाई मेरो प्रश्न छ– महधिवेशनमा जागृत कांग्रेसको नेतृत्व गर्न चाहेको हो कि झगडा गरेर मृत भएको कांग्रेसको नेतृत्व गर्न चाहेको ? गाउँ–गाउँमा राजनीतिक बहस सिर्जना भएका, छलफल र संवाद बढेका छन् । चुनावमा मात्र गाउँ आउँछन् भन्ने आरोपलाई चिरेका छौँ । साथै कार्यकर्ता मात्र होइन, नेता पनि सच्चिनुपर्छ भन्ने आएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।

महाधिवेशनलाई विलम्ब गर्नुहुँदैन : प्रकाशमान सिंह, केन्द्रीय सदस्य
जागरण अभियानले कार्यकर्ता परिचालन भएका छन् । यो सकारात्मक पाटो हो । तर, पार्टीको संरचना नबनाई कार्यक्रम गर्दा प्रभावकारी नभएको गुनासो आएको छ । प्रदेशदेखि वडासम्मका संरचना बनाएर गर्नुपथ्र्यो भन्ने सुझाब धेरै आए । विधान बनिसकेपछि अब विधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लानुको सट्टा महाविधेशनको नियमित समयलाई अलमलमा पार्ने काम भयो भन्ने छ । पार्टीको तल्लो तहसम्मै नेताहरूको आ–आफ्नै संगठन शैलीले पनि कार्यकर्तामा अलमल छ । यस्तोमा एकरूपता र गुटभन्दा माथि उठेर राजनीति भएको हेर्न कांग्रेस कार्यकर्ता तयार छन् । अब सभापतिले महाधिवेशनको कार्यक्रम सुरु गर्न ढिलाइ गर्नुहुन्न ।

गाउँ–गाउँ पुग्यौँ, एक वर्षमा घर–घर पुग्छौँ : डा. प्रकाशशरण महत सहमहामन्त्री
जागरण कार्यक्रम उत्साहजनक छ । कार्यकर्ताहरू बढी सक्रिय हुने अवसरको खोजीमा थिए । कार्यक्रमले कांग्रेसको क्रियाशीलता गाउँ पुगेको छ । यो क्रियाशीलतालाई दोस्रो र तेस्रो चरणमा हामी घर–घरमा पुर्‍याउँछौँ । कार्यकर्तालाई नेता सुध्रिनुपर्‍यो, संगठन सुध्रिनुपर्‍यो भन्ने लाग्नु स्वभाविक हो । पूूर्ण नभएका संरचनाले विस्तारै पूर्णता पाउँछन् । पार्टीमा केही नहुँदा नेताहरू गाउँ–गाउँमा पुग्नुले कार्यकर्ता खुसी छन् । तर, पार्टीको गतिविधि बढ्दा कोही दुःखी हुन्छन्, बेखुसी हुन्छन् भने केही भन्नु छैन ।

केही भयो, तर हुनुपर्नेजति भएन : गगन थापा, केन्द्रीय सदस्य
म १५–२० जिल्ला गएँ । जिल्लामा साथीहरू परिचालित भएका छन् । केही नभएका वेलामा जिल्लाका कार्यक्रमले तरंग ल्याएका छन् । तर, सँगै पार्टीको संरचना अस्तव्यस्त हुँदा संरचनाले काम गर्न पाएका छैनन् । संघीयताअनुरूपका संरचना नहुँदा, भ्रातृसंस्थाको अधिवेशन नहुँदा तल गएर कसरी काम गर्ने भन्ने अन्योल जिल्ला जानुभएका साथीहरूमा देखियो । पार्टीको आदेशमा साथीहरू जिल्ला जानुभएको छ । तर, असन्तोषका बीच काम गर्नुभएको छ । हाम्रो यतिखेर काम छैन, विशेष अवस्थामा छैनौँ, तर पार्टीले अधिवेशन गर्नेतर्फ पहल गरेन भन्ने छ । यस्तो वेलामा तलको, केही नभएको ठाउँमा हलचल भएको छ । साथै, सरकारले गरेका कामलाई दरिलो रूपमा उठाउनु हाम्रो धर्म हो । तर, आफैँभित्र सुधार गरे मात्रै दरिलो रूपमा सरकारविरुद्ध उभिन सकिन्छ ।

नयाँ पत्रिकाबाट