काँग्रेस उपसभापति निधि डेनमार्कमा

काठमाडौं । कांग्रेसका उपसभापति विमलेन्द्र निधि काँग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि बिहीबार डेनमार्क गएका छन् ।

डेनमार्कको बर्नहोल्ममा जुन १३–१७ सम्म हुने मेलामा सहभागी हुन निधिसहितका नेताहरु डेनमार्क गएका हुन् ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई डेनमार्कतर्फ पुगेको बताइएको छ ।

डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी दिइने छ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताको सहभागिता रहनेछ ।

डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो ।