मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४०२ पुग्यो, एक जना डिस्चार्ज

काठमाडौं । नेपालमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी गराइएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।

नयाँ संक्रमित मध्ये पाँच जना उपत्यकाका छन । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जनाकारी अनुसार काठमाडौंका तीन जना, भक्तपुरका र ललितपुरका एक एक जनामा संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका संक्रमतिहरुमा नौ जना झापाका मोरङ र सुनसरीका एक एक जना, सर्लाहीका दुई, मकवानपुर, रामेछाप, सिन्धुली र लमजुङका एक एक जना, कपिलवस्तुका चार जना र नवलपरासीका एक जनमामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मन्त्रालयका अनुसार कोेरोना संक्रमण ३६ जिल्लामा देखिएको छ ।

प्रदेशगत रुपमा सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश ५ मा देखिएका छन । त्यहाँ १७६ संक्रमित पुष्टि भएको छ । त्यस्तै प्रदेश १ मा ५४, प्रदेश २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

आजसम्म देशभर पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या ३२ हजार ६ सय ४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै आरडिटी विधिबार ७४ हजार ६ सय ४९ परीक्षण गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

आजसम्म देशभर २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेकामध्ये प्रदेश १ मा एक हजार एक सय ७८, प्रदेश दुईमा तीन हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२, गण्डकी प्रदेशमा ३ सय ५९, प्रदेश ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९ सय ३६ जना रहेको नियमित पत्रकार सम्मेलनमा बताइएको छ ।

आइसोलेसनमा देशभर ४ सय ५७ रहेका छन । तीमध्ये काठमाडौं उपत्यका भित्र १७ जना र उपत्यका बाहिर ४ सय ४० जना रहेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताइएको छ ।

एक जना निको भए
कोरोना निको भएर थप एक जना डिस्चार्ज भएका छन । कोषी अस्पतालबाट झापाका ६२ वर्षीय पुरुष पिसिआर परिपोर्ट नेगेटिभ आएपछि आज २५ औँ दिनमा डिस्चार्ज भएका छन । नेपालमा संक्रमितको औषत अस्पताल बसाई १९ दिन हुने गरेको पनि बताइएको छ ।

शुल्क तिरेर पनि पिसिआर परीक्षण
आजबाट इच्छा हुनेहरुले शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने भएका छन । राष्ट्रिय प्रयोगशालाबाट तोकिएको मापदण्डअनुसार गोपनीयता राख्ने र नियमित अपडेट गराउने गरी तोकिएको सार्वजनिक स्वास्थ्य संस्थाले पनि अब पिसिआर परीक्षण गर्न पाउने भएका छन । तोकिएको स्वस्थ्य संस्थामा तोकिएको दररेटमा परीक्षण सशुल्क गराउने निर्णय मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा गराइएको छ ।
यस्तै मन्त्रालयले प्रदेश नम्बर २ र पाँचलाई केन्द्रित गरि १०, १० जनाको चिकित्सकको टोली खटाउने निर्णय पनि गरेको छ ।