शुक्रबार थप ३० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं । शुक्रबार विहानसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ४८७ जना पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३० जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार सर्लाहीमा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा नगरपालिकामा कोरोना संक्रमण देखिएको हो । त्यहाँ २२ देखि ३९ वर्षका १४ पुरुष र १८ वर्षकी एक महिला गरि १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका २४ देखि ५३ वर्षका आठ पुरुष र ८ वर्षकी बालिका गरि नौ जनामा कोरोना संक्रमण देखिएको छ ।

उता नवलपरासीको सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिकाका ३३ र ३५ वर्षका पुरुष र १५ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवनको भरतपुर महानरगपालिका–६ का ७४ वर्षका पुरुष, ७३ वर्षकी महिलामा कोरोना पुष्टि भएको छ भने नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका– ६ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।