पुनः २० जनामा कोरोना भाइरस पुष्टि, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । शुक्रबार दिउँसो थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै विहान ३० जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि पहिलोपटक संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम नगरपालिका १० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वैतडीमा पुष्टि भएका व्यक्ति प्रहरीको थुनुवा भएकाले अहिले प्रहरी कार्यालय शिल गरिएको छ ।

दिउँसो पुष्टि भएका संक्रमितमा कैलालीमा तीन जना रहेका छन । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

आज पछिल्लोपटक पुष्टि भएकामा बाँकेमा १४ जना संक्रमित छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु हुन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । सबै गरेर शुक्रबार साँझसम्म ५०७ जनामा कोरोना पुष्टि भएको छ भने नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । आजसम्म उपचारपछि ७० जना निको भएर घर फर्र्किएका छन ।