कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या १९ हजार सात सय ४८ पुग्यो, एक लाख ११ हजार नौ सय निको भए

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार एक सय ४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्ममा १९ हजार सात सय ४८ पुगेको छ ।

सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिए पनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ ।

सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा छ हजार आठ सय २०, स्पेनमा तीन हजार चार सय ३४ पुगेको छ भने चीनमा तीन हजार २८१ छ । चीनमा पछिल्ला केही हप्तादेखि नयाँ सङ्क्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ सङ्क्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले जनाएको छ ।

सङ्क्रमणका कारण विरामी परेका चार लाख ४० हजार एक सय ४५ मध्ये एक लाख ११ हजार नौ सय ४२ जना निको भएर घर फर्केका छन् । १३ हजार चार सय २५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ । दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार एक सय तथा अमेरिकामा सात सय ८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्या अझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार दुई सय १८, इटालीमा ६९ हजार एक सय ७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६ सय १० जनामा संक्रमण पुष्टि भएको छ ।