शौचालयको छतले च्यापिएर चार बालबालिकाको मृत्यु

दार्चुला । दार्चुलामा एक स्कुलमा बनाइएको शौचालयको छतले च्यापिएर ४ बालबालिकाको मृत्यु भएको छ। नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किएर च्यापिँदा चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

छतले च्यापिएर ज्यान गुमाउनेमा करिब ५ वर्षकी युनिका ठगुन्ना, ७ वर्षकी निरुता ठगुन्ना, ९ वर्षकी अनुष्का धामी र ९ वर्षका सुदिश धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विद्यालय बन्द भएको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेलीरहेका बालबालिका सोही छत भत्किएपछि च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको थियो ।

शौचालयको छत निर्माणमै त्रुटी भएको अनुमान गर्दै स्थानीयले शौचालय निर्माण गर्नेलाई कारवाही हुनुपर्ने आवाज उठाएका छन् । बालबालिकाको मृत्युले गाउँमा शोक छाएको छ ।