गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ताः देउवा

काठमाडौं । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताएका छन् । देउवाले गान्धी गाउँलाई महत्व दिएर विकास गर्नुपर्छ भन्ने सोचको नेता भएको बताए ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले एक सय ५० औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आयोजना गरेको अन्तरक्रियामा देउवाले गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको बताए । उनले गान्धीमा यसबारे दूरदर्शी विचार रहेको बताए ।

आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आफैँ कपडा उत्पादन गरी अङ्ग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अङ्ग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसङ्गसमेत सभापति देउवाले स्मरण गरे ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गरे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा अहिलेको राजनीतिक उपलब्धि पनि शान्ति र अहिंसाकै माध्यमबाट प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिमाथि देखिएका खतराको सामना गर्न सम्पूर्ण जनता जागरुक हुनुपर्ने बताए ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आजको विश्व राजनीतिमा गान्धीको प्रेरणाको महत्व थप बढेको चर्चा गरे ।

भारतीय कांग्रेसका नेता एवं भारतका पूर्वविदेशमन्त्री सलमान खुर्शिदले गान्धीले कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ ठूलो निर्णय लिन सफल भएको चर्चा गर्दै शान्तिबिना विकास नहुने बताए ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ को बहसबारे टिप्पणी गर्दै ‘सी पथ’ ले नेपालमा ठूला भवनको निर्माण भए पनि मानव विकास र मानवताका लागि भने ‘जी पथ’ अर्थात् गान्धी पथ नै आवश्यक पर्ने टिप्पणी गरे ।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले गान्धी भारतमा जन्मे पनि विश्वका लागि शान्ति र अहिंसाका प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरे ।