धनगढीमा लागु भएन भवन संहिता

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२’ (राष्ट्रिय भवन संहिता) पूर्ण रुपमा लागू हुन नसकेको बताइएको छ ।

उपमहानगरपालिका कार्यालयका इञ्जिनीयर द्वीजराज भट्टले जनचेतनाको कमी र प्रयाप्त रुपमा प्राविधिक पहुँच पुग्न नसकेका जस्ता कारणले बनाइएको राष्ट्रिय भवन संहिता पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भइरहेको बताए । शहरमा चार प्रतिशत र ग्रामीण बस्तीमा २० प्रतिशत संरचना निर्माणमा अझै संहिताको पालना नभएको भेटिएको इञ्जिनीयर भट्टको भनाइ छ ।

उनले भने, ‘यद्यपी घर संरचना निर्माणको अवस्थामा पहिलेको भन्दा सुधार भई ठूला घर प्राविधिक रेखदेख र डिजाइन बमोजिम निर्माण हुने गरेका छन् ।’ भूकम्पबाट घर लगायतका संरचना जोगाइ मानवीय क्षति हुनबाट रोक्न चार वर्ष अघि धनगढी उपमहानगरपालिकामा यो मार्गदर्शन लागू गरिएको थियो ।

सरकारले स्वीकृत गरेको यो ‘बस्ती विकास शहरी योजना तथा भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई तत्कालीन नगरपरिषद् बैठकले पारित गरेसँगै लागू गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि घरलगायत संरचना निर्माण गर्दा संरचनाको प्राविधिक पक्षमा कमीकमजोरी हुन नदिन यो मार्गदर्शन तयार पारिएको बताइएको छ ।