बेहडाबाबा हेर्नलायक बनेको छः नगरप्रमुख

बेहडाबाबा, कैलाली । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बेहडाबाबा धार्मिक क्षेत्रलाई आकर्षक र हेर्नलायक बनाएको बताएका छन् । उनले यस धार्मिक पर्यटकीय क्षेत्रमा एकपटक सबैलाई पुग्न अपिल समेत गरेका छन् ।

बेहडाबाबा गुरुकुल स्थापनाका लागि आयोजना हुन लागेको ‘सप्ताह ज्ञान महायज्ञ २०७६’का बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख वडले यस्तो बेहडाबाबा धाम क्षेत्रमा उप–महानगरपालिकाले गुरुयोजना अनुसार पूर्वाधार विकासको काम गरिरहेको पनि जानकारी गराए ।

‘गुरुयोजना अनुसार धामाधम काम भइरहेको छ । धार्मिक पर्यटक तथा भक्तजनको सहजताका लागि धर्मशाला निर्माण भैरहेको छ,’ नगरप्रमुख वडले भने, ‘मन्दिरको सुरक्षाका लागि ४ करोड बराबरको पर्खाला निर्माण हुँदै छ ।’

मन्दिरबाट गंगामाता मन्दिरसम्म पुग्न छोटोबाटो निर्माण गर्ने योजना रहेको पनि उनले बताए । मन्दिर परिसर छेउछाउको जमिनमा फूलको बगैचा निर्माण गरिएको छ ।
नगरप्रमुख वडले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माणको काम सम्पन्न भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराए ।
भने, ‘खानेपानी, सौचालय निर्माणको काम पुरा भएको छ । यहाँको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बेहडाबाबाको प्रचारप्रसार आवश्यक छ ।’ उनले धनगढी आउने हरेक आगन्तुकलाई बेहडाबाबा आउने वातावरण बनाउन सबैलाई आग्रह गरे ।

बेहडाबाबा गुरुकुल स्थापनाका लागि आउँदो फागुन २० गतेदेखि चैत २ गते सम्म सप्ताहज्ञान महायज्ञको हुँदैछ । बेहडाबाबा मन्दिर ब्यबस्थापन समितिका सचिव पदमराज जोशीले भने, ‘स्थानीय सरकार पनि गुरुकुल विद्यालय संचालनमा सहयोग गर्न तयार छ। त्यसका लागि वातावरण बनाउन यज्ञ आयोजना गर्न लागिएको हो ।’