धनगढी मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्दै

धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा भइरहेको मेयर कपको उपाधिका लागि वडा नम्बर १२ र १४ भिड्ने भएका छन् । वडा नम्बर १२ मा क्वाटरफाईनलसम्मका खेलपछि वडा नम्बर १८ मा भएको सेमिफाईनल खेलमा जित हात पार्दै दुवै वडा उपाधिका लागि भिड्न लागेका हुन् ।

पृथ्वी युवा क्लबको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा वडा नम्बर १४ विजयी भएको छ । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई २–१ ले हरायो । वडा नम्बर १४ का लागि हेम गोले र सुदिप चौधरीले गोल गरे । वडा नम्बर ७ का लागि रामसिंह रानाले एक गोल गरे ।

दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ विजयी भएको छ । वडा नम्बर १९ लाई ३–० ले हराउँदै वडा नम्बर १२ फाइनलमा पुगेको हो । वडा नम्बर १२ लाई जिताउनका लागि सन्दिप गुरुङले दुई गोल गरे भने खेम चयडाले एक गोल गरे ।
वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सकिदैछ । सोमबार फाइनल भएर मेयर कप फुटबल प्रतियोगिता समापन हन लागेको हो । दिउँसो साढे २ बजेदेखि मेयर कपको फाइनल सुरु हुनेछ ।

धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयर कपको समापन गर्ने कार्यक्रम छ । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उप विजेतालाई ५१ हजार नगद पुरस्कार दिइनेछ ।

प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाइने छ । प्रतियोगितामा १९ वटै वडाका टीमले भाग लिएका थिए ।