वडा नम्बर १२ को पोल्टोमा मेयर कपको उपाधि

आगामी वर्षदेखि महिला मेयर फुटबल प्रतियोगिता आयोजना गर्ने मेयरको घोषणा

धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार सम्पन्न धनगढी मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले हात पारेको छ ।

सोमबार वडा नम्बर १८ स्थित पृथ्वी युवा क्लबको खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १४ लाई पराजित गर्दैै वडा नम्बर १२ ले उपाधि चुमेको हो । पेनाल्टी सुटआउटमा सडन डेथसम्म पुगेको खेलमा वडा नम्बर १२ नौ–आठले बिजयी भएको हो । यसअघि निर्धारित समयमा दुबै वडाले १÷१ को बराबरी खेलेका थिए ।

पहिलो हाफको ३५ मिनेटमा वडा नम्बर १४ का लागि हेम गोयलले गोल गर्दै अग्रता दिलाएका थिए भने दोश्रो हाफको ४० मिनेटमा वडा नम्बर १२ का भिम थापाले गोल गर्दै खेल बराबरी बनाएका थिए । विजेता बनेको वडा नम्बर १२ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद एक लाख हात पारेको छ ।

उपविजेता बनेको वडा नम्बर १४ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ५१ हजार हात पारेको छ । वडा नम्बर १२ को मनकामना युवा क्लबको मैदानमा क्वाटरफाईनलसम्मका खेल भएका थिए । वडा नम्बर १८ को पृथ्वी युवा क्लको खेल मैदानमा सेमिफाईनल र फाईनल खेल भएको थियो ।

उपहानगरपालिका १९ वटै वडाहरुको टीमले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ नगद सहित सम्मान गरीएको छ । प्रतियोगितामा उत्कृष्ट फरवार्ड वडा नम्बर १४ का बादल पाख्रिन, उत्कृष्ट गोल रक्षक वडा नम्बर १४ कै पारस खत्री, उत्कृष्ट रक्षक वडा नम्बर १२ का सन्दिप गुरुङ र उदियमान खेलडी वडा नम्बर १२ का बिबेक सञ्जेल घोषित भए ।

उनीहरुले जनही पाँच हजार पाँच सय पुरस्कार प्राप्त गरे । सोमबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका मेयर नृप ओडले मेयरकपको समापन गरेका हुन । सो अवसरमा बोल्दै उनले आगामी वर्षदेखि महिला मेयर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरे ।

प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको थियो । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाइने कैलाली जिल्ला फुटबल संघले जनाएको छ ।