जो अरुका किताब सिंगार्छिन्

संखुवासभामा जन्मिएकी दीपा दाहाल यतिबेला प्रबोधन कुञ्ज स्थापना गरेर बसेकी छिन् । आफै साहित्य लेखनमा सक्रिय उनले २०७५ सालमा प्रबोधन कुञ्ज स्थापना गरेकी हुन् । विभिन्न लेखक, साहित्यकारका पुस्तकलाई थप सारसज्जा र परिमार्जन गर्ने काममा दाहाल सक्रिए छिन् । यही सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीः

प्रबोधन कुञ्ज स्थापनाको उद्देश्य के हो ?

समाजमा लेखन र पठनको सँस्कृति बढ्दै गएको छ । अहिले नयाँ पुस्ताले लेखनमा निकै रुची राखिरहेको छ । तर लेखनमा केही शिल्प र शैलीहरू अमिल्दा हुन्छन् । त्यो आफैमा पनि लागू हुन्छ । मैले लेखकहरूको त्यही भाषा, शैली र शिल्पमा सहकार्य गर्न यो प्रबोधन कुञ्ज स्थापना गरेकी हुँ ।

अन्य विषयहरू पनि थिए होलान्, सम्पादनकै काम किन थाल्नुभयो ?

अन्य काम गर्दा पनि नराम्रो होइन्, तर यो मेरो आफ्नो पनि क्षेत्र हो । म आफू पनि लेख्छु, मलाई लेखनमा रुची छ । मेरो पढाइ नेपाली हो मैले नेपालीबाट दर्शनाचार्य तह गरेँ । विषय मिल्दो र रुची मिल्दो क्षेत्र भएकाले मैले यसलाई रोजेँ । यसमा काम गरेर पाउने दामसँगै नाम पनि जोडिएर आउँछ, त्यो राम्रो पक्ष लाग्छ ।

जोखिम, चुनौति पनि त होलान् ?

जोखिम नभएको क्षेत्र के छ र ? चिया नै बेच्ने हो भने पनि ग्राहकले कहिले चिनी बढी भयो भन्छन्, कहिले कम । त्यसैले जोखिम त भइहाल्छ । यो शब्दको क्षेत्र हो । यहाँ हरेक शब्दमा ख्याल गर्नैपर्छ । होइन भने एक सानो शब्दकै कारण लेखकदेखि हामीलाई पनि अप्ठेरामा पार्नसक्छ ।

हालसम्म कति कृतिमा काम गर्नुभयो ?

हामी स्थापना भएको करिब एक वर्ष भयो । यो अवधिमा करिब आधा दर्जन पुस्तकको सम्पादन र चारवटा घोस्टराइटिड. गरिसक्यौँ । अहिले पनि कामको सिलसिला जारी छ । यो क्रम बढिरहेको छ ।

अन्य कुन कुन विधामा काम गर्छ, प्रबोधन कुञ्जले ?

पुस्तक लेखन, सम्पादन, अनुवादबाहेक हामी फरक क्षमता भएका बालबालिकालाई साहित्यिक, सिर्जनशील तालिम पनि दिन्छौँ । यो हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको काम हो भन्दा हुन्छ ।